खानेपानीकै समस्या

वीरेन्द्रनगरमा खानेपानीको चरम संकट छ । गर्मीको समयमा मात्रै होइन बर्खायाममा समेत खानेपानीको हाहाकार हुन्छ । धारामा पानी नआउँदा खानेपानीको जोहो गर्न अनेक विकल्प खोज्नुपर्ने बाध्यता उपभोक्ताहरूलाई छ । इनार खन्नेदेखि डिप बोरिङसम्मका विकल्प अबलम्बन गर्ने गरिएको छ । इनार र डिप बोरिङ नहुनेहरूले जारको पानी किनेर उपयोग गरिरहेका छन् । यतिबेला पनि उपभोक्ताका धारामा नियमित पानी आइरहेको छैन । उपभोक्ता पानीको हाहाकारमा छन् तर त्यही अभाव टार्न उपत्यकाभित्रै लाखौँ लगानी गरेर निर्माण गरिएका योजना भने सञ्चालन हुन सकेका छैनन् । सरोकारवाला निकायको बेवास्ताका कारण ती योजना तथा खानेपानीका संरचना प्रयोगविहीन भएका हुन् । स्थानीय सरकार र सुर्खेत उपत्यका खानेपानी तथा सरसरफाइ उपभोक्ता संस्थाले योजनाको मर्मत सुधारमा चासो नदिएको पाइएको हो ।

वीरेन्द्रनगर–१ मा वडा कार्यालयको ठूलो लगानीमा झन्डै दुई वर्षअघि भूमिगत स्रोतको पानी निकाल्न डिप बोरिङ योजना सुरु गरियो । डिप बोरिङ र अन्य संरचना निर्माणको काम सकिएको लामो समय भइसक्दा पनि त्यहाँका नागरिकले पानी पाएका छैनन् । २० लाख लगानी गरिएको यो योजना अहिलेसम्म अलपत्र छ । योजना सञ्चालन भए वडा नं. १ का झन्डै दुई हजार पाँच सय घरधुरी र वडा नं. २ का केही बासिन्दासमेत लाभान्वित हुने अपेक्षा गरिएको छ । यस्तै वीरेन्द्रनगर–१० को घुस्रास्थित जनसेवा माध्यमिक विद्यालयको हातामा पनि डिप बोरिङ खनिएको छ । नजिकै आकाशे ट्याङ्की पनि बनाइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको एक करोड ५१ लाख, विद्यालयको १२ लाख तथा खानेपानी तथा सिँचाइ निर्देशनालयको पाँच लाख लगानीमा योजना निर्माण गरिएको हो । झन्डै पौने दुई करोड लगानी भइसकेको योजना सञ्चालनमा आएको केही महिनामै बिग्रेको छ । डिप बोरिङबाट निकालिएको पानी संकलन गरेर दुुई सय धारामा पठाउने योजना थियो । मोटर बिग्रेकाले अहिले बोरिङ सञ्चालनमा छैन । पानीको समस्या हल गर्न भन्दै लाखौँका योजना निर्माण गरिएपनि आफूहरूको कहर नहटेको स्थानीयको गुनासो छ ।

खानेपानीकै समस्या हुन थालेपछि त्यसको जोहो गर्न उपभोक्ताले मापदण्ड मिचोर डिप बोरिङ खन्न थालेका छन् । वीरेन्द्रनगर नगरपालिकाले भूमिगत स्रोतको पानी निकाल्न तथा उपयोग गर्न अनुमती पत्र जारी गर्ने सम्बन्धी निर्देशिका, २०७६ जारी गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि नगरपालिकाले डिप बोरिङ खन्दा अनुमती लिनुपर्ने व्यवस्था गरेको छ । तर, अनुुमति नलिएरै मनपरी रूपमा डिप बोरिङ खन्ने गरिएको छ । नगरपालिकाले भौगोलिक क्षेत्रभित्र अनुुमति लिएर मात्र भूूमिगत स्रोतको पानी निकाली प्रयोग गर्न पाइने भनेको छ । अधिकांश डिप बोरिङ मापदण्ड विपरीत छन् । जसको अनुगमन तथा नियमनसमेत हुन सकेको छैन ।

प्रकाशित मितिः   १४ भाद्र २०७९, मंगलवार ०५:०३