दुई मन्त्रीको राजीनामा

सुर्खेत: कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सामेल आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आइतवार राजीनामा दिएका हुन् । पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि विष्ट र शाहीले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रले उनीहरूलाई फिर्ता गरेर अन्य दुई जनालाई सरकारमा पठाउने तयारी गरेको छ । रुकुमपश्चिमका प्रदेशसभा सदस्य रातो कामी र जाजरकोटका कृष्णा शाहलाई मन्त्री बनाउन लागिएको हो । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरूलाई आज ‐सोमवार) नियुक्त गरेर सपथ खुवाउने तयारी छ । कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा ‐एकीकृत समाजवादी) को तीन दलीय गठबन्धन सरकार छ । माओवादी केन्द्रको भागमा तीन वटा मन्त्रालय छन् । सरकार समावेशी बनाउने भन्दै माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना तीन जनामन्त्रीमध्ये विष्ट र सिंहलाई शुक्रवार फिर्ता बोलाउने निर्णय गरेको थियो । कर्णाली सरकारमा अहिले महिला र दलितको सहभागिता शून्य छ । सरकार समावेशी नभएको भन्दै चौतर्फी आलोचनासमेत हुने गरेको छ ।

मन्त्रीबाट राजीनामा दिएका विष्ट मंसिर १४ गते मन्त्रीमा नियुक्त भएका थिए भने सिंह माघ २३ गते नियुक्त भएका हुन् । माओवादी केन्द्रले पठाउन लागेका नयाँ दुई जनाले झन्डै तीन महिना मन्त्री बन्न पाउनेछन् । मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने भएकाले उनीहरू छोटो अवधिका लागि मात्रै मन्त्री बन्न पाउनेछन् । हाल कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना प्रदेशसभा सदस्य छन् । यसअघि माओवादी केन्द्रका १३ प्रदेशसभा सदस्यमध्ये दुई जनाले दल त्याग गर्दा पदमुक्त भएका थिए । माओवादी केन्द्रका एक जना प्रदेशसभा सदस्य भने उपसभामुख छन् । यसअघि उक्त पार्टीका आठ जना प्रदेशसभा सदस्य मन्त्री बनिसकेका छन् । समावेशीताको सवाल भनिए पनि बाँकी दुई जनालाई पनि पालो पु¥याउन माओवादीले सरकारमा पठाउन लागेको बुझिएको छ । योसँगै माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरू सबै मन्त्री बन्ने भएका हुन् । माओवादी केन्द्रले सांसद मात्र नभइ एक जना गैरसांसद्लाई समेत ६ महिनाका लागि मन्त्री बनाइसकेको छ ।

प्रकाशित मितिः   १३ भाद्र २०७९, सोमबार ०५:०३