मतदाता नामावली अद्यावधिक सुरु
सुर्खेत: आगामी मंसिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता नामावली अद्यावधिकको काम सुरु गरिएको छ । निर्वाचन आयोगको कार्यक्रमअनुसार आइतवारदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूले मतदाता नामावली अद्यावधिक कार्य अघि बढाएका हुन् । कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार आइतवार सम्बन्धित स्थानीय तहका वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गरिएको छ । सुर्खेतका नौ वटै स्थानीय तहमा मतदाता नामावली उपर दाबी विरोध कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग यसअघि नै आवश्यक छलफल गरिसकिएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । प्रदेश निर्वाचन कार्यालयको विवरणअनुसार सुर्खेतमा दुई लाख ४७ हजार सात सय ४० मतदाता रहेका छन् ।
कार्यतालिका अनुसार भदौ १२ गते नामावली प्रकाशन गरेर भदौ १९ गतेसम्म मतदाता नामावली अद्यावधिक र दाबी विरोधको समय तय गरिएको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन तथा एकभन्दा बढी स्थानमा नाम समावेश भएमा मतदाताको एक ठाउँमा मात्रै नाम कायम राख्न भदौ १३ ‐आज)देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ ।
त्यस्तै, निर्वाचन आयोगले एक सूचना जारी गर्दै मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउन भदौ १३ देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ । यसअघिको निर्वाचनमा मृत्यु भएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो । सरकारले गत साउन १९ गते निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली संकलनको काम स्थगित गरेको थियो ।
प्रकाशित मितिः १३ भाद्र २०७९, सोमबार ०५:०२
साझा बिसौनी ।