सञ्चार नीतिबारे संवाद
सुर्खेत: सञ्चार नीति सम्बन्धि सरोकारवाला निकायबीच संवाद गरिएको छ । आइतवार वीरेन्द्रनगरमा सञ्चार क्षेत्रका नीति र आचारसंहिता कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको हो । फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको संयोजनमा भएको कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्याक कमलेश डिसीले पत्रकारको सुरक्षा र आगामी बाटो विषयक कार्यपत्र प्रस्तुत गर्दै पत्रकारहरूले आचारसंहिता पालनामा जोड दिनुपर्ने बताए । समाचारकै विषयलाई लिएर पत्रकारहरू असुरक्षित बन्ने अवस्था आउन नहुने उनले जनाए । ‘पत्रकारिता जोखिमको पेशा हो,’ उनले भने, ‘आफू सुरक्षित भए मात्रै नागरिकतालाई सुसूचित गर्न सकिन्छ ।’ पत्रकार महासंघ सुर्खेतका पूर्वअध्यक्ष समेत रहेका डिसीले पछिल्लो समय पत्रकारिता क्षेत्र पत्रकारकै कारण बढी जोखिममा देखिएको औल्याउँदै पेशागत मर्यादा र आचरणमा रहेर कर्तव्य निर्वाह गर्नुपर्ने सुझाए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिससपी) सुरज कार्कीले गलत सूचनाले समाजमा भ्रम सिर्जना गर्ने हुँदा तथ्यपरक सामग्री दिनेतर्फ पत्रकारहरूले बढी जोड दिनुपर्ने बताए । ‘बरु समाचार दिन ढिलो होस्,’ उनले भने, ‘तर भ्रामक सूचना नजाहोस् भन्नेमा पत्रकारहरू सचेत हुनुपर्छ ।’ कार्कीले प्रहरी र सञ्चारकर्मीहरूको पेशागत सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए । सञ्चारकर्मीहरूको पेशागत सुरक्षाका लागि पत्रकार महासंघलगायतका अन्य सरोकारवाला संस्थाले सहकार्य गर्न आवश्यक रहेको संवाद कार्यक्रमका सहभागिहरूको भनाइ थियो ।
प्रकाशित मितिः १३ भाद्र २०७९, सोमबार ०५:०१
साझा बिसौनी ।