पूर्वप्राथमिक शिक्षालाई बेवास्ता
पूर्व प्राथमिक शिक्षाको अवधारणा अन्तर्गत देशभर बाल विकास केन्द्रहरू सञ्चालन गरिएको छ । विद्यालय उमेर समूहमा प्रवेश गर्दै गरेका बालबालिकाहरूलाई समेट्न केन्द्रको अवधारणा अघि सारिएको हो । सामान्तः पाँच वर्ष उमेर पुगेपछि कक्षा १ मा भर्ना गर्ने गरिन्छ । त्यसपूर्व अर्थात तीन वा चार वर्ष उमेरका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको शिक्षालाई पूर्व प्राथमिक कक्षा अथवा प्रारम्भिक बालविकास शिक्षा भन्ने गरिएको हो । यसको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयका लागि तयार गराउने हो । तर औपचारिक विद्यालय शिक्षाको जगको रूपमा मानिने बाल विकास केन्द्र सञ्चालनमा भने निकै हेलचक्य्राइँ हुने गरेको पाइएको छ । कर्णाली प्रदेशमा सञ्चालित यस्ता बाल विकास केन्द्रहरू दयनिय अवस्थामा छन् ।
उदाहरणका लागि कालीकोटको महावै गाउँपालिका–६ स्थित बाल विकास केन्द्रलाई लिन सकिन्छ । चाखाचौरमा बाल विकास कक्षा सुरु भएको १२ वर्ष भयो । सुरुवातमा तीनदेखि चार वर्ष उमेर समूहका ३१ जना बालबालिका राखेर सिकाइ गतिविधि अघि बढाइयो । केन्द्र स्थापनापछि पहिलो चरणमा यसबारे समुदायलाई सुसूचित गरियो । धैरैजसो अभिभावक आफ्ना बालबालिकालाई सानै उमेरमा केन्द्रमा पठाउन राजी भएनन् । सचेतनाका कार्यक्रम सञ्चालन गरेपछि विस्तारै अभिभावकले केन्द्रमा बालबालिका पठाउन थाले । दोस्रो वर्ष बालबालिकाको संख्या बढेर ४५ पुग्यो । तत्कालीन समयमा गाउँ विकास समितिको निजी स्रोतबाट सहयोगी सहजकर्ता राखेर सिकाइ गतिविधि थालिएको थियो । ती सहजकर्ताले मासिक एक हजार रूपैयाँ पाउँथे । त्यहाँ न भरपर्दो भौतिक संरचना थिए न त सिकाइ सामग्री नै । ढेड दशक बितिसक्दा पनि यो बाल विकास केन्द्रको अवस्था भने खासै फेरिएको छैन । साँघुरो कोठा छ, बसाइँको व्यवस्थापन राम्रो छैन । शौचालय, खानेपानी र खेल सामग्री पनि छैनन् । सिकाइ गतिविधि कक्षा कोठामा मात्र सीमित छ । बालबालिकाले नयाँ सिकाइका अभ्यास गर्न अझै नपाइरहेको अवस्था छ । यो एक उदाहरण मात्रै हो । कर्णालीका विभिन्न जिल्लामा सञ्चालित अधिकांश बाल विकास केन्द्रको अवस्था यस्तै छ ।
बाल विकास केन्द्र बालबालिकाहरूको आधारभूत शिक्षाको पहिलो जग हो । यसलाई व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ । त्यसका लागि सबैभन्दा पहिलो राज्य नै गम्भिर हुनुपर्दछ । बालविकास केन्द्रहरूको भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा सहजकर्ता शिक्षकहरूको उचित व्यवस्थापनमा ध्यान दिन सकेमा मात्रै बाल विकास केन्द्रहरूको प्रभावकारीता सावित हुनेछ । औपचारिक शिक्षा लिनुअघिको जगको रूपमा हेरिने आधारभूत सिकाइ सञ्चालनमा अनेकन अभाव भइरहनुले सरोकारवालाहरूको प्राथमिकतामा बाल विकास केन्द्रहरू नपरेको देखिन्छ ।
प्रकाशित मितिः १३ भाद्र २०७९, सोमबार ०५:०३
सम्पादकीय ।