राजनीतिका राज्यलक्ष्मीहरू !

राजा राजेन्द्रकी कान्छी महारानी राज्यलक्ष्मीका अत्यन्त विश्वासी पात्र गगनसिंह भण्डारीको रहस्यमय तरिकाले हत्या भयो । हत्यारा पत्ता लगाउने बहानामा जंगबहादुर राणाले तमाम भाइभारादारको कत्लेआम गरे, रगतको खोलो बगाए । त्यो नरसंहारलाई इतिहासले कोतपर्वको नामबाट चिन्दछ ।

कोतपर्वमा रगतले नुहाएर शक्तिमा उदाएपछि जङ्गबहादुर राणासँग महारानी राज्यलक्ष्मीको निकटता र सम्बन्ध झन् मजबुत बन्यो । कान्छी महारानीले परोक्ष रूपमा राज्यको बागडोर समाई राजालाई कठ्पुतली बनाएकी थिइन् । सत्ता सञ्चालनमा द्वेष बढ्दै जाँदा राजाका रिसले उनका पक्षधरलाई मार्न लगाउने मात्र होइन, टाउको काटेर ल्याउने सम्मको पनि आदेश गर्थिन् । गद्दीका सनातन हकदार युवराज सुरेन्द्रलाई पागलको बात लगाएर पाखा पारी आफ्नो छोरा रणबहादुरलाई राजगद्दीमा राख्न पनि उस्तै आतुर थिइन् । जङ्गबहादुरसँग मिलेर सुरेन्द्रलाई हटाउने वा परिआएमा ज्यानै लिने समेतको प्रपञ्च रच्न थालिरहेकी थिइन् ।

जङ्गबहादुर राणाले उता महारानीलाई आश्वस्त पारेका मात्र थिएनन् यता युवराजलाई पनि कडा सुरक्षा दिइरहेका थिए । दोहोरो भूमिका निभाएर भित्रभित्रै उनले थप शक्तिसमेत आर्जन गरिरहेका थिए । आशा देखाएर राणाले विलम्ब गरी अन्तमा धोका दिएको कुरा महारानीले छर्लङ्ग बुझेपछि, आफ्ना पक्षधरलाई बटुली अब राणालाई नै सिध्याइदिने कारणले भण्डारखालमा भोजको प्रबन्ध गरिन् । भोजनमा विष मिसाएर खुवाउनेसम्म षड्यन्त्र गरेको सुइँको पाएर जङ्गबहादुरले हातहतियारसहितका फौज लिएर गए । भण्डारखाल घेर्दै विरोधीहरूलाई तरबारले गिंडे, कतिलाई गोली ठोकेर मारे । महारानी लाचार भइन् । जङ्गबहादुरले महारानीलाई दरबारबाट बाहिर खेदेर कतै नजरबन्दमा राखे । टुँडिखेलमा जनतालाई भेला गराइ ती महारानीको एक–एक कर्तुतको भण्डाफोर गरे । महारानीलाई एक्लै बनारस बस्ने बन्दोबस्त मिलाएर कहिल्यै फर्की आउन नपाउने गरी देश निकाला गरिदिए । शक्तिका लागि राज्यको बागडोर हत्याउने होडबाजीमा भाइ भारदार र सिपाहीहरूको धेरै रगत खाएको छ कोतपर्व र भण्डारखालपर्वले । यसरी भविष्यलाई मनन्योग्य दृष्टान्त दिएको छ, इतिहासले ।

२०४६ सालको परिवर्तनलाई आफ्नो वंशजको बिर्ता ठानेर राजनीतिका सम्मानित शिखर पुरुषहरूलाई अपमानपूर्वक पन्छाएर पछि पार्दै सत्तामा हैकम चलाउन अग्रसर भए कोही राजनीतिक धूर्त पात्र । उनको कार्यकालमा नातावाद र कृपावादको विकृति खुबै फैलियो यो देशमा । षड्यन्त्रका पासा पल्टाएर तिनै विकृतिका प्रणेताले उछिट्याए शासन सत्ता । सत्तासिन बाबुको बलमा नउम्रदै दुई पात भएका कोही नयाँ अवतारका राज्यलक्ष्मीको पनि कम थिएन चुरीफुरी । त्यतिबेला प्रशारण भएका समाचार हेर्ने सुन्ने तमाम दर्शक श्रोता भन्दा पनि सम्बन्धित पार्टीका केही सदस्य कार्यकर्ताले भित्रबाट देखेका, भोगेका र व्यहोरेका छन् चुरीफुरीको महŒवकांक्षा । धमिजा काण्ड र लाउडा काण्ड पचाएका, देशका ठूला उद्योग कारखाना कौडीको भाउमा बेचेका, आर्थिक विधेयकभित्र नागरिकता विधेयक छिराएर बेइमानीपूर्वक पेश गरेका, महाकाली सन्धीलाई सम्झौता भनी छलेका, तानाशाही कृतिमानी व्यक्तिले अख्तियार अदालतजस्ता संवैधानिक निकायलाई उपेक्षा गरी मनमौजी ढङ्गले चलाएका थिए शासन यो देशमा । देशले कष्ट झेलेका कारण उल्लेखित कृतिबाट इतिहासले उनलाई पनि चटक्कै बिर्सन सक्नेछैन ।

नागरिकता विधेयक अहिले देशमा तातो बहस भइरहेको छ । विदेश जर्मनमा विदेशीसँग घरजम गरि बसेकी, जायजन्म समेत भइसकेकी आफ्नी छोरीलाई ती सत्तासिन सरदारले विनाविभागीय मन्त्री बनाए । पार्टीको नीति र देशको नियम कानुन धोती लगाइदिएपछि पार्टीमा खैलाबैला मच्चियो । विदेशीसँग बिहेदान भएकी चेलीले नागरिकता कतातिर त्याग्नुपर्छ कता लिनुपर्छ ? मन्त्री बन्न कानुनले छेक्छ कि छेक्दैन ? राजनैतिक हैसियत के हो ? त्यतिबेला यस्ता प्रश्न उठाउने कसका बाबुको के तागत ! जर्मन पिताबाट जन्मेकी उनकी छोरी मेलानी जोस्ट बंगलादेशी नागरिक रुवेल चौधरीसँग नेपालमा बिहे भएको थियो र नाति जन्मेपछि जन्मदर्ता समेत नेपालमा नै गरिएको थियोे । राजाले कु गरेर शासन सत्ता हत्याउँदा यिनी लुक्दै भारततिर भागेकी थिइन् र जर्मन पासपोर्टबाट अझ टाढा भाग्ने सोच बनाएकी थिइन् ।

नेपाल महिला संघले आयोजना गरेको एउटा चियापान कार्यक्रममा अब नेपालमा महिला प्रधानमन्त्री बनाउने भन्ने अभिव्यक्ति दिएका थिए विनाविभागीय मन्त्रीका पिताले । तब चुरिफुरी चुलिएर शिखर चढिरहेको थियो डोटीको एउटा कार्यक्रममा अब आफू चाँडै गृहमन्त्री बन्ने घोषणा गरेकी थिइन् । सरकारी नियुक्ति सरुवा बढुवा होस् वा सरकारी ठेक्कापट्टा सबैमा उनले रुचिकर हुन्थिन् । विदेश पठाउने र धर्मपुत्र– पुत्री बेचबिखन गर्नेदेखि रक्तचन्दनको व्यापारसम्मका धन्धामा उनको नाम जोडिन्थ्यो । एकचोटि भक्तपुरमा एउटा घटना घट्यो । बिरामीको सट्टा सामान बोकेर साइरन बजाउँदै गएको शंकास्पद एम्बुलेन्सलाई जगाती चेकपोस्टमा प्रहरीले रोक्यो । खानतलासीबाट रक्तचन्दन भेटियो । चालक मात्रै गिरफ्तार भयो साहु भेटिएन । मिडियाले जतिसुकै लेखे पनि खोजी र कारबाही नभएपछि खबर दामदुम भयो ।

सायद समयलाई यो देश अरु बर्बाद भएको हेर्न मन थिएन । परिस्थिति प्रतिकूल बन्न गएका कारण सत्ताबाट पाखा लागे पनि छोरीलाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनाउन सफल भए ती वृद्ध तानाशाह । आफू देशको पहिलो राष्ट्रपति हुने र आफ्नी छोरी प्रधानमन्त्रीको कुर्सीमा बसेको हेर्ने सपना पूरा नहुँदै उनको प्राणान्त भयो ।

त्यस्ता बाबुको ब्याज स्वरूप आफ्नो उपचारका नाममा राज्यकोषबाट ठूलो रकम भुक्तानी लिनु अधिकार ठानियो । देशमा २०७२ को संविधान लागू भएपछि सितिमिति निर्वाचनको सामना नगरेको व्यक्तिलाई प्रत्यक्षतर्फबाट उम्मेदवार भइ लड्नु फलामको चिउरा चपाउनु जस्तै हुन्छ । समानुपातिकबाट आफ्नो सीट सुरक्षित गरेपछि मन्त्री भएर रजगज गर्न पाइने मौका टाढा जाँदैन । ऐन मौका आउँदा बरु आफ्ना दाजुभाइहरूको विश्वासमा पानी खन्याएर उता सत्ताको कित्तातिर फङ्गाल्दा मन्त्री पद हात लाग्ने ठूलो सम्भावना रहन्छ । अन्य पार्टीको पनि महŒवकांक्षा बढ्न जाने र काम गर्न असहज हुने हुँदा यस पटक कसैलाई उपप्रधानमन्त्री बनाइदैन भनेर बहालवाला प्रधानमन्त्रीले जब अडान लिएपछि तब फेरि त्यो सपनामा असिना परेको देखियो ।

सरकारसँग गठबन्धनमा गाँसिएका अन्य पार्टीहरूले आफ्ना मन्त्रीहरू फेरबदल गरे । मान प्रतिष्ठा र इज्जत जतासुकै जाओस् चाहिएन उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री मात्रै पाए पनि सार्थक हुन्छ जीवन । मनमा आशा पलाएर हुर्के पनि मन्त्रीहरूको फेरबदल गरेर, महŒवाकांक्षीलाई पालो पु¥याइदिनेतर्फ सरकारले पटक्कै ध्यान नदिएको हुँदा मनको रहर खडेरीको घामले सुकाए झैं ओइलाउँदै गयो । प्रधानमन्त्रीको पिएले पनि मेरो फोन उठाउन छोड्यो भन्दै मिडियासँग बिलौना गर्नुबाहेक त्यति अनुकूल रहेन समय । छिमेकी मुलुकका नेताहरूसँग हातजोडी हार गुहार गरेको पनि सतहमा देखिन आयो । कसैले बाचुञ्जेल पटक–पटक मन्त्री खाइ रहने, पार्टीमा जीवन गुजारेका असल कार्यकर्ताको पालो कहिल्यै पनि नआउने, किन होला ? यो प्रश्नको त्यति सजिलो उत्तर राजनीतिमा छैन सायद ।

शक्तिको उन्मादले कोही–कोही नारी पात्र आफ्नो मर्यादा नाघेर किन स्खलित हुन्छन् घरीघरी ? स्थानीय तहको चुनाव प्रचार–प्रसारमा जनतालाई सम्बोधन गर्ने क्रममा कतै ‘कांग्रेसले नजित्ने ठाउँमा हामी बजेट पठाउँदैनौ’ र कतै ‘हामीलाई जिताउनुहोस् जितेपछि फ्रि भिसामा विदेश पठाइदिउँला’ भन्ने जस्ता लज्जा र तुच्छ अभिव्यक्तिका कारण प्रथम महिलालाई विवादले घेराभित्र तान्यो । जब विवादले घेरामा तान्छ तब अनेक विकृतिहरू खोजिन्छन् जोडिन्छन् । सरकार मेडमको तजबिजबाट चल्छ भनी विश्लेषकले व्यङ्ग्य समेत गर्ने गर्छन्  । विचारमा बोसो लाग्न थालेपछि यस्ता उत्ताउला अभिव्यक्ति पैदा हुँदा रहेछन् । राखी बाँधेर वा टीका लगाएर कसैलाई दाजुभाइ मान्नु उत्तम कार्य हो । तर विदेशी नेतालाई राखी बाँधेर कुनै राजनीतिक अभिष्ट पूरा गर्न खोज्नु कहिल्यै पनि उत्तम कार्य होइन । पछिल्ला घटना क्रममा प्रथम महिलाको अशोभनीय गतिविधिहरू छरपष्ट भएका छन् । महारानी राज्यलक्ष्मीको इतिहास बिर्से पनि विनाविभागीय कोही मन्त्रीको चुरीफुरी फाटेर धुजा–धुजा भएको दृष्टान्त हेरेर मनन गरे हुन्थ्यो । सहाना प्रधान, शैलजा आचार्य श्रद्धाले सम्झनामा आउने नामहरू हुन् । यी महिला नेतृत्वबाट उल्लेखनीय काम नभए पनि निष्ठामा गनिन्छन् किनकि कसैको मन दुखाएनन् किनकि देशको अहित सोचेनन् । तिनले राज्य लुटेर न ज्वाईं पोस्ने काम गरे, न राजनीति स्वार्थसिद्ध गर्न विदेशी नेतालाई राखी बाँधेर भाइ माने । उधुम मच्चाउने यस्ता राज्यलक्ष्मीहरूको पुनरावृत्तिले देश उँभो लाग्दैन, यो सबैले मनन गर्न जरुरी छ ।

प्रकाशित मितिः   १२ भाद्र २०७९, आईतवार ०५:०४