सिकाइ आदानप्रदान

सुर्खेत: स्थानीय न्यायिक समितिका असल अभ्यास र सिकाइ दस्तावेजीकरण कार्यशाला सम्पन्न भएको छ । वीरेन्द्रनगरमा भएको कार्यशालामा कर्णाली प्रदेशका स्थानीय तहका वर्तमान तथा निवर्तमान न्यायिक समितिका संयोजकहरूले सिकाइ आदानप्रदान गरेका छन् । कार्यशालामा प्रदेशका सात जिल्लाका १४ वटा पालिकाका वर्तमान तथा निवर्तमान न्यायिक समिति संयोजकहरूको सहभागिता रहेको थियो । संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना दोस्रो, यूएनडीपीको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा कार्यशाला भएको हो । न्यायिक निरूपण गर्दा स्थानीय न्यायिक समितिको संयोजकका साथै सदस्यहरूले कसरी संविधानले आरक्षण गरेको निःशुल्क कानुनी सुविधा पाउने दलित, महिला, अल्पसंख्यक, पिछडएको क्षेत्र, घरेलु हिंसामा परेका, सशस्त्र द्वन्द्वका पीडित एवम् अशक्त र बृद्धवृद्धाहरूलाई सजिलै न्यायको पहुँचमा ल्याउने भन्ने विषयमा छलफल गरिएको थियो । न्यायिक समितिमा राखिनुपर्ने अभिलेख तथा दस्तावेजहरू व्यवस्थित राख्नुलगायतका सवालमा अनुुभव आदानप्रदान गरिएको थियो । कार्यशालामा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरू सहभागि थिए ।

प्रकाशित मितिः   ९ भाद्र २०७९, बिहीबार ०५:०२