जेठ दोस्रो सातासम्म योजना सम्पन्न गरिसक्ने
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन हुने भौतिक पूर्वाधारका योजना समयमै सम्पन्न गर्न पहल थालेको छ । विकास निर्माणमा हुने ढिलासुस्ती हटाएर जेठ दोस्रो सातासम्म सबै योजनाको काम सक्न नगरले वडाहरूलाई अनुरोध गरेको हो । सोही विषयमा बुधवार नगरप्रमुख मोहनमाया ढकालको अध्यक्षतामा वडाअध्यक्षहरूको वैठक बसेको छ । बैठकले आगामी जेठ १५ गतेभित्र यो वर्षका सबै योजना कार्यान्वयन गरिसक्ने निर्णय गरेको जनाइएको छ ।
प्राविधिक कर्मचारी र १६ वटै वडाका अध्यक्षको उपस्थितिमा भएको बैठकमा बजेट समयमै निकासा गर्ने र योजनमा देखिएका कठिनाइ तत्काल नगरपालिकामा जानकारी गराउने निर्णय भएको छ । त्यसका साथै विकास निर्माणका क्रममा आउन सक्ने अवरोध हटाउने र अनुगमनलाई प्रभावकारी बनाउने सहमति भएको बताइएको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट अनुसार सबै वडाहरूलाई काममा तिव्रता दिन नगर प्रमुख ढकालले आग्रह गरेकी छन् । आर्थिक वर्षको अन्त्यमा योजना सुरु गर्ने र जथाभावी बजेट खर्च हुने प्रवृतिलाई निरुत्साहित गर्न नगरपालिकाले यस्तो निर्णय गरेको जनाइएको छ ।
प्रकाशित मितिः ९ भाद्र २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।