वन कार्यालयको हिरासतमा मृत्यु भएको विषयमा छानबिन गर्न समिति
सुर्खेत: डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा एक जनाको संकास्पद मृत्यु भएको विषयमा छानबिनका लागि समिति गठन गरिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग गरिएको छलफलपछि शुक्रवार छानबिन समिति गठन गरिएको हो । छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत सदस्य रहेको जनाइएको छ । प्रजिअ रिजालका अनुसार उक्त समितिले घटनाको बारेमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।
वनसम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको कार्यालयको हिरासतमा मृत्यु भएको पाइएपछि आफन्त आन्दोलिन बनेका छन् । बिहीवार डिभिजन वन कार्यालय सुर्खेतमार्फत पक्राउ गरिएका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालय पु¥याउने वित्तिकै मृत्यु भएको थियो । आफन्तले पक्राउ गर्नेहरूबाट कुटपिट भएपछि लामिछानेको मृत्यु भएको आरोप लगाएका छन् । बिहीवार डिभिजन वन कार्यालयमै पुगेर आन्दोलन गरेका आफन्तले शुक्रवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चार जनाविरूद्ध किटानी जाहेरीसमेत दिएका छन् । डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षकद्वय पिउसराज तिवार र सुरेन्द्र रानाविरूद्ध किटानी जाहेरी परेको हो । किटानी परेकामध्ये सहायक वन अधिकृत धितालबाहेक अरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । शुक्रवार साँझसम्म परिवारले मृतकको शव पनि बुझेका छैनन् । डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रूख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सुरूमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भनेपछि धनीरामलाई पक्राउ गरिएको थियो ।
प्रकाशित मितिः ४ भाद्र २०७९, शनिबार ०५:०२
साझा बिसौनी ।