सिंजामा हरेक महिना हाट

जुम्ला: जुम्लाको सिंजामा हरेक महिनाको १ गते हाट बजार लगाइन सुरु गरिएको छ । सिंजा गाउँपालिकाले सिंजा साम्राज्यको विरासत जगाउने र स्थानीय उत्पादन बजारीकरण गर्न भदौ १ गतेदेखि हाट बजार चलाएको हो । यहाँ अबदेखि हरेक महिना यस्तो बजार लगाइने भएको छ । १८४६ सालभन्दा अघि सिंजा राज्य निकै शक्तिशाली थियो । त्यसै बेलादेखि यहाँ हाट बजार लाग्थ्यो । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी सिंजामा लाग्ने हाट आर्थिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक र भू–राजनीतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्थ्यो ।

पुरानो इतिहास झल्काउन र स्थानीयलाई आर्थिक रूपमा सबल पार्न अहिले पनि हाटको महत्वदेखि सुरु गरेको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल बताउँछन् । उनका अनुसार हाट कै कारण १२औं शताब्दीदेखि १४औं शताब्दीसम्म सिंजा खस राज्य आर्थिक रूपमा बलियो भएको इतिहास छ । उतिबेलाको हाट बजार आजको प्रमुख व्यापारिक केन्द्र जस्तै मानिन्थ्यो । धितालका अनुसार सिंजा साम्राज्य कुनै बेला कृषि उत्पादनमा बलियो मात्रै नभइ उत्तर र दक्षिणको बजारको केन्द्र पनि थियो । अहिले फेरि स्थानीय उत्पादनलाई जोड दिन र त्यसको बजारीकरण बढाउने उद्देश्यका साथ हाटबजार सुरु गरिएको धितालको भनाइ छ । हाटबजारमा सिंजामै बनेका राडीपाखी, तरकारी, मार्सीचामल, स्याउ, सिमीजस्ता स्थानीय उत्पादन बिक्रीका लागि राखिने छन् । सिंजाले हाट बजार सुरू गरेपछि आर्थिक विषय मात्रै नभइ संस्कृति र पुरानो सभ्यतासम्बन्धी खोजबिन पनि सुरू हुने अपेक्षा गरिएको छ । हाट बजार गाउँपालिकाको केन्द्र रहेको स्थान नराकोटमा लगाउन सुरु गरिएको छ । स्थानीय मनतिज बुढाले हाटबजारले सिंजामा पुरानो झल्को दिएको जनाए । सुरुवाती चरणमै भएका कारण केही व्यवस्थित बनाउने काम भने भइरहेको उनले बताए ।

प्रकाशित मितिः   ४ भाद्र २०७९, शनिबार ०५:०१