केयूले कर्णालीको जनमत सर्वेक्षण गर्दै

सुर्खेत: काठमाडौं विश्वविद्यालय ‐केयू)ले कर्णाली प्रदेशको सामाजिक, आर्थिक, राजनैतिक र स्वास्थ्यलगायतका विषयमा सर्वेक्षण सुरु गरेको छ । कर्णालीमा रहेका विश्वविद्यालय र क्याम्पसहरूसँगको समन्वयमा केयूले सर्वेक्षण थालेको हो । विश्वविद्यालयले यो सर्वेक्षणमा नेपाल तथा विदेशका अनुसन्धानकर्ताहरूसँग हातेमालो गर्दै समाज विज्ञानमा चासो राख्ने विद्यार्थीहरूलाई अवसर दिइने जनाएको छ । सर्वेक्षणअन्तर्गत उक्त टोलिले घरधुरीमै पुगेर विविध विषयमा विवरण संकलन गर्ने छ । समाज विज्ञानका आयाममा अब्बल बनाउने प्रयास स्वरूप बदलिँदो अवस्था र परिवर्तनका बारेमा जनताको धारणा बुझ्नका लागि सर्वेक्षण सुरु गरिएको काठमाडौं विश्वविद्यालयका प्रवक्ता डा. उद्धब प्याकुरेलले जनाए । उनका अनुसार काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्टसले इन्टरडिस्प्लिनरी एनालिस्टस् (आईडीए) र दि एसिया फाउन्डेशनसँग मिलेर सर्वेक्षण थालेको हो । सर्वेक्षणले कर्णालीका जनताको अवस्था, विचार र प्राथमिकता बाहिर ल्याउनेछ । यसले तीनै तहका सरकारलाई शासन तथा सेवा प्रवाहमा सुधार गर्न मद्दत पुग्ने अपेक्षा लिइएको प्याकुरेलले बताए । नमूना छनोट विधिका आधारमा कतिपय प्रश्नमा एकल र धेरैमा बहुउत्तरको अपेक्षासहित गरिने सर्वेक्षणमा ९३ जना सर्वेक्षकहरूले यस वर्ष काम गर्नेछन् ।

केयूले कर्णालीका विभिन्न ठाउँहरूमा जनधारणा, सुरक्षा, विवाद समाधान, पहिचान, सामाजिक सम्बन्ध, शासन तथा राजनीतिमा सहभागिता, आर्थिक दृष्टिकोण र सूचनामा पहुँचबारे जनमत लिन सुरु गरेको जनाएको छ । त्यसका साथै कर्णालीमा रहेका धर्म, संस्कृति र विपद् जोखिमको अवस्थाबारे पनि अध्ययन तथा सर्वेक्षण गरिने छ । जाजरकोट, दैलेख र सुुर्खेतका केही स्थानमा पुुगेर त्यहाँको वस्तुस्थितिको जानकारी विश्वविद्यालयले संकलन गरिसकेको छ । बहु चरणको नमूना विधि र प्रतिनिधिमूलक नमूनामा आधारित भइ देशका सातवटै प्रदेशका वडा तहमा पुगेर सर्वेक्षण गर्ने योजना रहेको विश्वविद्यालयका प्रवक्ता प्याकुरेलले बताए । उनका अनुसार यही प्रकृतिको सर्वेक्षण देशका केही स्थानमा यसअघि सन् २०२० मा पनि गरिएको थियो । कोरोना महामारीका कारण बीचमा नियमितता दिन नसकिएकोमा हाल पुनः सर्वेक्षण अघि बढाइएको हो ।

प्रकाशित मितिः   १ भाद्र २०७९, बुधबार ०५:०३