सुर्खेत–कोहलपुर सडकमा राति मोटरसाइकल चलाउन रोक

सुर्खेत: जंगली जनावरबाट आक्रमणको जोखिम देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासनले एक सूचना जारी गरी रत्न राजर्मागअन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा रातिको समयमा मोटरसाइकल यात्रा नगर्न भनेको छ । गएको आइतवार राति जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि प्रशासनले यस्तो सूचना जारी गरेको हो ।

यसै घटनालाई लिएर स्थानीयले सोमवार सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका थिए । प्रशासनका अनुसार आइतवार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब चार सय मिटरमा पूर्वतर्फ पर्ने जंगलमा जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको थियो । सोही विषयलाई लिएर सोमवार बिहान ११ बजेदेखि आफन्तहरूले विभिन्न मागहरू राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक करिब ६ घण्टापछि खुलेको थियो ।

योसँगै प्रशासनले रातको समयमा दुई पांग्रे सवारी साधन चल्न नदिने निर्णय गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले जंगली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुई पांग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चार पांग्रे सवारी साधनको अगाडि÷पछाडि रही सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः   १ भाद्र २०७९, बुधबार ०५:०२