के चाहन्छन् पश्चिम सुर्खेतका जनता ?
विकासका दृष्टिले पछि परेको क्षेत्र हो, पश्चिम सुर्खेत । सदरमुकामदेखि पश्चिममा रहेका गाविसहरुमा सडकको सहज पहुँच छैन । विजुली पुगेको छैन । विकास निर्माणका अन्य पूर्वाधार पनि कम छन् । शिक्षा, स्वाथ्य, सञ्चार लगायतका पूर्वाधारको पनि सहज पहुँच छैन । निर्वाचनको बेला भोट माग्दै विकासका आश्वासन बाँड्ने नेताहरुले चुनाव जितेपछि आफ्ना आश्वासन भुल्ने गरेको यस क्षेत्रका नागरिकहरुको गुनासो छ । यति मात्र होइन यहाँका नागरिकका थुप्रै गुनासाहरु छन् । पश्चिम सुर्खेतका केही नागरिकका आवाज हाम्रा सहकर्मी गीता थापाले संकलन गरेकी छन् । तीनै आवाजलाई आजको साझा जनमतमा प्रस्तुत गरेका छौं ।
…
पश्चिमको विकासका लागि त सबैभन्दा पहिला यहाँको ठूला दलका नेताहरूले नै पहल गर्नुपर्छ । यहाँका नेताहरू धेरै छन् तर केही गर्न सकिरहेका छैनन् । राम्रोसँग विकास हुन सकेको छैन । चुनावमा जित्ने मात्र हुन् अरु केही गर्न सकेका छैनन् । चुनाव जित्ने बेला यो ठाउँको लागि यो त्यो विकास गर्छु भन्छन् तर, काम भने कसैले गर्न सकेका छैनन् । त्यसैले यिनीहरूले नै एक पटक सोच्नु आवश्यक छ । भोट माग्नेबेला मात्र यस्तो गर्छु उस्तो गर्छु भन्ने तर विजयी भइसकेपछि फर्केर नहर्ने गर्नाले विकास हुन सकेको छैन । -शिवलाल घिमिरे, बावियाचौर–२, सुर्खेत
सुर्खेत पश्चिम बावियाचौरमा सडक, बत्तीको राम्रोसँग सुविधा नै छैनन् । पश्चिम क्षेत्रको विकासको लागि सबैभन्दा ठूलो विकास भनेको यहाँको चौकुने सिमेन्ट सञ्चालन ल्याउन सकेको भए यस क्षेत्रको विकास राम्रोसँग हुने थियो । अहिलेसम्म बावियाचौरमा बिजुली बत्ती छैन । यहाँको नागरिकले रकम उठाएर यही नजिकैको खोलाबाट बिजुली निकालेर बालेका छौं त्यही पनि कतिपयको घरमा पुगेको छैन । बिजुली बत्ती भएको भए यहाँको विकासमा थप टेवा पुग्ने थियो । विकास सदरमुकाममा मात्र केन्द्रित भएकाले अब यसलाई गाउँ गाउँमा पनि पु¥याउनु पर्दछ ।
-नरेन्द्रबहादुर शाही, बावियाचौर–४, सुर्खेत
पश्चिममा विकास नहुनु सबैभन्दा ठूलो कमी भनेको चेतनाको कमी भएर हो । विकासको लागि आएको बजेटमा हिनामिना गर्ने गरिन्छ त्यसको खोजी कसैले गर्दैनन् । कहाँ कति बजेट कसरी खर्च हुन्छ कसैलाई वास्ता हुँदैन अनि कहाँबाट विकास हुन्छ । यदि पश्चिम क्षेत्रको विकास गर्ने हो भने यहाँका ठूला नेताहरू मिल्नुपर्छ र जनतामा पनि चेतनाको विकास गर्न जरुरी छ । जबसम्म यहाँका बासिन्दाहरूमा जनचेतना आउँदैन तबसम्म यहाँको विकास हुन सक्दैन । विभिन्न समयमा आउने बजेटमा लाखौंको घाटाला भएको हुन्छ यसतर्फ सम्बन्धित सबैको तथा सर्वसाधारणले नै आवाज उठाउनु पर्दछ अनि मात्र यहाँको विकास हुन सक्दछ । -चन्द्रबहादुर सार्की बावियाचौर–५, सुर्खेत
चुनावको बेला भोट माग्न आउँदा यो ठाउँको यो विकास गर्छु त्यो विकास गर्छु भन्दै आउने नेताहरूले गर्दा नै पश्चिम सुर्खेतको विकास हुन नसकेको हो । यस क्षेत्रमा न त सडक राम्रो छ, न विद्यालय, खानेपानी, बिजुली सबैको समस्या रहेको छ । नेताहरू भाषण मात्र गर्छन् । यहाँका बासिन्दालाई आफ्नो ठाउँको विकासको लागि कसरी अगाडि बढ्ने भन्ने कुनै वास्ता नै छैन । अनि कसरी हुनसक्छ पश्चिमको विकास । राम्रोसँग र समयमा काम गर्न नसकेरर बजेट फिर्ता जान्छ । काम गर्ने जिम्मा पाएका ठेकेदार समयमै काम गर्दैनन् ।
-कली बिसी बावियाचौर–५, सुर्खेत
पश्चिमक्षेत्र विशेष गरेर राजनीतिकमा जागरुकता छैन । प्रगति प्राप्त गर्ने गरी काम भएको पनि छैन । भन्न त भोट माग्न आउँदा नेताहरू यो ठाउँको लागि सबै विकास गरिदिन्छौं भन्नु हुन्छ तर, कोही पनि नेताले पश्चिम क्षेत्रको लागि विकास गरेको देखिदैंन । अहिलेसम्म कति नेता केन्द्र र सत्तामा पुगिसक्नु भयो खै त यहाँको विकास गरेको ? आज बावियाचौरका बासिन्दाले एउटा बिजुली बत्ती बाल्न पाएका छैनन् । खानेपानीको त्यस्तै समस्या छ । विद्यालय राम्रो छैन । सडकको अवस्था नाजुक छ । आएको बजेटबीच बाटोमा खाने र भएको बजेटले पनि समयमा नै काम नगर्दा विकास हुन नसकेको हो । -कमलप्रसाद कँडेल बावियाचौर–७, विद्यापुर
पश्चिम क्षेत्रको विकास नहुनुको प्रमुख कारण यहाँका राजनीतिक दलका नेताहरूले साँचो नदिँदा हो । यहाँ विकास गर्ने कुरा भन्दा पनि बढी बजेट हिनामिना हुने हुन्छ । तर, त्यसको मतलब कसैलाई हुँदैन । आफ्नो ठाउँको विकासको लागि आफै जुट्नुपर्छ भन्ने सोचको विकास सबैमा हुन जरुरी छ । अर्काे कुरा चुनावमा भोट माग्न आउँदा जनतासँग गरेको बाँचा नेताहरूले पूरा गर्न सकिरहेका छैनन् । उनीहरूले पनि सत्तामा पुग्न मात्र होइन आफ्नो क्षेत्रको लागि केही विकास गर्छु भन्ने भावना पैदा हुन जरुरी छ । यसक्षेत्रको विकास गर्नका लागि यहाँका जनता, राजनीतिक दलका नेता लगायत सम्पूर्ण सरोकारवालाहरूले चासो दिनुपर्छ । -पम्फा खराल बावियाचौर–२, सुर्खेत
यस क्षेत्रकोल विकास नहुनु कार्य कर्ताको कमजोरी हो । अहिलेसम्म यहाँको सडक कालो पत्रे हुन सकिरहेको छैन । यहाँका जनताहरू पनि सक्रिय भएर लाग्नुुपर्छ । पश्चिम क्षेत्रका भन्दा पनि लाज लाग्ने कुरा हो आजको २१ औं शताब्दीमा समेत यहाँको बासिन्दाले बिजुली बत्ती बाल्न समेत पाएका छैनन् । पश्चिम क्षेत्र विकासको हिसाबले हेर्ने हो भने धेरै पछाडि परेको छ । न यहाँ बत्तीको राम्रो सुविधा छ न खाने पानीको नै । यहाँका जनताले नै पहिला सम्बन्धित निकाय तथा पार्टीहरूलाई दबाब दिनुपर्दछ । -उदयबहादुर र्सिपाली बावियाचौर–२, सुर्खेत
सुर्खेत पश्चिम क्षेत्रलाई हेर्ने हो भने विकासको हिसाबले अन्य क्षेत्रभन्दा धेरै पछाडि परेको क्षेत्र हो । यहाँ अहिलेसम्म सडक राम्रो छैन, कालोपत्रे हुन सकिरहेको छैन । विद्युत छैन । सिचाईंको त के कुरा गर्ने हो र खानेपानीको अभाव छ । स्रोत धेरै छन् तर, त्यस स्रोतलाई कसरी प्रयोग गर्ने भन्ने ध्यान कसैको जान सकेको छैन । यहाँ भएका साना बजारहरू पनि व्यवस्थापन हुन सकिरहेको छैन् । यहाँका नेताहरूले गछौं भन्छन् तर केन्द्रमा पुगेपछि भने वास्ता नै गर्दैनन् । त्यसैले पनि पश्चिम विकासमा पछाडि परेको छ ।
-हरिकला तारामी बावियाचौर–२, सुर्खेत
पश्चिम क्षेत्रको विकास हुन नसक्नु भनेको मुख्य समस्या यहाँका राजनीतिज्ञहरू एकआपसमा नमिल्नु नै हो । कुनै पनि क्षेत्र वा ठाउँ, गाउँको विकासका लागि सबैभन्दा पहिला त्यहाँका नेताहरू सक्रिय भएर लागे भने मात्र त्यस ठाउँको विकास हुनसक्छ । तर, यहाँका नेताहरू एकले अर्काेलाई सहयोग नगर्दा र खुट्टा तान्ने प्रवृत्तिले गर्दा नै यो क्षेत्र विकासमा पछाडि परेको हो । यो क्षेत्रमा यदि विकास गर्ने हो भने पर्यटनको हिसाबले, उद्योग लगायतका हिसाबले राम्रो सम्भावना बोकेको क्षेत्र हो । यसलाई सबैले चिनेर सबै मिलेर विकास गर्नसके पश्चिमको मात्र होइन समग्र जिल्ला तथा देश कै विकासमा टेवा पुग्छ । -जमुना रावल बावियाचौर–३, सुर्खेत
साझा बिसौनी ।