खस भाषा जोगाउन स्थानीय पाठ्यपुस्तक

जुम्ला: तातोपानी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेर सोहीअनुसार पाठ्यपुस्तक छापेको छ । सिँजा र चन्दननाथ नगरपालिकाले पनि पाठ्यपुस्तक छापेर विद्यालयमा पठाइसकेका छन् । जिल्लाका अधिकांश तहले खस भाषालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापेका हुन् । पहिलो पटक २०७५ सालमा पाठ्यपुस्तक छापेको तातोपानी गाउँपालिकाले पनि खस भाषाकै पाठ्यक्रम निर्माण गरेको छ । स्थानीय भाषा संस्कृति र परम्पराको जगेर्ना गर्दै आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक र पर्यटकीय सम्भावनाको उजागार गर्न स्थानीय पाठ्यक्रम बनाइएको हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पाठ्यपुस्तकमा पालिकामा रहेका धार्मिक पर्यटनस्थल, कला संस्कृति, भाषा र मार्सीधानको खेतीलगायतका विषय समेटिएको बताए । उक्त गाउँपालिकाले दुई हजार दुई सय पुस्तक प्रकाशन गरेको छ ।

चन्दननाथ नगरपालिकाले पनि खस भाषामै पाठ्यपुस्तक छापेको छ । भाषा संस्कृतिमा आधुनिकता झल्किन थालेपछि खस भाषामा पाठ्यपुस्तक तयार पारिएको नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईं बताउँछन् । स्थानीय पाठ्यपुस्तकका लागि नगरले तीन लाख रूपैयाँ बजेट व्यवस्थापन गरेको थियो । अहिले नगरभित्रका विद्यालयका कक्षा १ देखि ३ सम्म खस भाषामा उक्त पाठ्यपुस्तक पठाइ भइरहेको छ । त्यस्तै, सिँजा गाउँपालिकाले खस पाठ्यपुस्तक प्रकाशन गरेर विद्यालयमा पठाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले पुस्तक २२ वटै विद्यालयमा पु¥याइसकिएको जनाए । सिँजा क्षेत्र खस भाषा र सभ्यताको केन्द्र भएकाले खस भाषा जोगाउन पाठ्यपुस्तक प्रकाशन गरी कार्यान्वयनमा लगिएको उनको भनाइ छ । जुम्लाका पालिकाहरूमा स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्ने होेडबाजी नै चलेको छ । कतिपय विद्यालयमा स्थानीय पाठ्यपुस्तक पढाउने शिक्षकको भने अभाव रहेको बताइएको छ ।

सथानीय सरकारले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउनुपर्ने प्रावधान छ । सोहीअनुसार कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि १०० पूर्णाङ्कको स्थानीय वा मातृभाषा विषयको पाठ्यक्रम निर्माण गरी लागू गरिएका हुन् । पाठ्यक्रम विकास केन्द्रको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्थानीय आवश्यकतामा आधारित शिक्षा प्रदान गर्ने गरी पाठ्यक्रम तयार पार्नुपर्ने भनिएको छ । जसमा स्थानीय आवश्यकताको पहिचान गरी अनुकूल हुने विषयहरू समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने हुन्छ । बजेट र दक्ष जनशक्तिको अभावमा पाठ्यक्रम निर्माण तथा पुस्तक प्रकाशनमा भने चुनौती देखिने गरेको पालिकाहरूले जनाएका छन् ।

प्रकाशित मितिः   ३१ श्रावण २०७९, मंगलवार ०५:०२