फुकोट कर्णाली भारतीय कम्पनीलाई
सुर्खेत: फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने सैद्धान्तिक सहमति भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजना भारतीय कम्पनीलाई दिन नेपालले सैद्धान्तिक सहमति गरेको हो । अब उक्त कम्पनीलाई दिने आधिकारिक निर्णय गर्न नेपाल सरकारले प्रक्रिया अघि बढाउनेछ ।
एनएचपीसी कम्पनीलाई नै नेपालले पश्चिम सेती र एसआर ६ आयोजना दिने निर्णय गरिसकेको छ । त्यसको लागि मन्त्रिपरिषद्ले समेत सम्झौता स्वीकृत गरिसकेको छ । एनएचपीसी कम्पनीका अध्यक्ष अभयकुमार सिंह पश्चिम सेती र एसआर ६ आयोजनाको सम्झौता गर्न बिहीवार नेपाल आउँदै छन् । सोही समयमा फुकोट कर्णाली आयोजनाबारे समेत छलफल हुने लगानी बोर्डले जनाएको छ । बोर्डका एक अधिकारीका अनुसार ‘आयोजना दिने निर्णयको लागि त विभिन्न प्रक्रियाहरू रहेका छन् । तर एनएचपीसीलाई दिने विषयमा सैद्धातिक कुराहरू भइरहेको छ । र त्यो सहमति नजिक पनि छ ।’
लगानी बोर्डले यस आयोजना निर्माणको जिम्मेवारी दिनको लागि धेरै छलफल भने गर्नुपर्नेछ । बोर्ड बैठकले नै आयोजना दिने निर्णयमा पुगेको खण्डमा पनि टेण्डर प्रक्रियादेखि मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नुपर्नेछ । बोर्डको अध्यक्ष समेत रहेका शेरबहादुर देउवा भने एनएचपीसीलाई नै दिन राजी रहेको बुझिएको छ । चार सय ८० मेगावाटको यस आयोजना नेपालको कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित छ । सान्नी त्रिवेणी गाउँपालिकाको १ सेरी गाउँको दक्षिण पश्चिम भागमा आयोजना निर्माण गरिनेछ । यस आयोजनाको लागि आठ दशमलव चार मिटर व्यास र क्रमशः ५,८३१ दशमलव ६६ मिटर र ५५९७ दशमलव २ मिटर लम्बाइका दुई वटा मुख्य (हेडरेस) सुरुङमार्ग निर्माण गरिनेछ । यो आयोजनाको कुल हेड (ग्रस हेड) एक सय ६८ दशमलव ६२ मिटर आयोजनाले जानकारी दिएको हो । हुम्ला–कर्णाली राजमार्गको नजिकै रहेको आयोजनाक्षेत्र वर्षभर नै पहुँचयोग्य हुन्छ ।
एक खर्ब रूपैयाँ लागत अनुमान गरिएको आयोजनामा रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना गाउँपालिका र केही खाडाचक्र नगरपालिकाको केही भूभाग प्रभावित हुने चार सय ८० मेगावाट क्षमताको आयोजनामा ६ किमि मुख्य टनेल निर्माण गर्नुपर्नेछ । आयोजनाबाट वार्षिक दुई हजार चार सय ५५ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने लक्ष्य छ ।
पश्चिम सेती र यही अयोजना श्रृंखला रहेको एसआर ६ आयोजना नेपालले एनएचपीसीलाई दिने निर्णय गरिसकेको छ । एनएचपीसी कम्पनी भारतको सबैभन्दा ठूलो विद्युत उत्पादन गर्ने कम्पनी हो । कम्पनीसँग जलविद्युत आयोजनाहरू स्थापना गर्ने सम्बन्धमा अवधारणा बनाउनेदेखि सञ्चालनसम्मका सबै गतिविधिहरू गर्न सक्ने क्षमता छ । एनएचपीसी लिमिटेडले जलविद्युतदेखि सौर्य र वायु ऊर्जाको क्षेत्रमा पनि विविधीकरण गरेको छ । सात हजार पाँच सय ३९ मेगावाट विद्युत उत्पादन गरिसकेको छ । यस कम्पनीले ११ वटा विद्युतका परियोजना निर्माण गरिसकेको छ ।
अरुणाचल प्रदेशमा दुई हजार मेगावटको सुबानसिरी तल्लो एचईपी र एचपीमा आठ सय मेगावाटको पार्वती सेकेण्ड, दुई ४० मेगावटाको सौर्य परियोजनाहरू समेत समावेश छन् । उडिसामा एक हजार मेगावाटका परियोजना छन् । त्यस्तै अन्य ६ वटा जलविद्युत परियोजनाहरूमा लगानी रहेको देखिएको छ ।
प्रकाशित मितिः ३१ श्रावण २०७९, मंगलवार ०५:०१
साझा बिसौनी ।