संविधान संशोधन जनताकै पक्षमा : पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्ताव पारित भएमा नेपाली जनताहरुबीच भावनात्मक एकता हुने बताएका छन् । उनले सबै राजनीतिक दल र सबै भूगोलमा बस्ने नेपालीको मेलमिलापको आवस्यकतामा जोड दिए ।

४१ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित एक कार्यक्रममा शनिबार दमौलीमा बोल्दै पौडेलले संविधान संशोधनको प्रस्तावमा सबै दल एकै ठाउँमा उभिएर जनतालाइ पनि एकताको सन्देश दिनुपर्ने बताएका हुन् ।

‘अहिले हिमाल, पहाड र मधेसका जनताबीचको तितो सम्बन्धलाइ चिरेर मेलमिलाप बढाउन जरुरी छ,’ पौडेलले भने, ‘संविधान संशोधन सहमति दिएर अहिले भाग्न खोज्दा दलहरुबीच पनि सम्बन्ध बिग्रेको छ ।’ एमालेले संशोधनको विरोध गर्नुको औचित्य नभएको भन्दै पौडेलले विगतको तिक्ततालाइ बिर्सेर अगाडि बढ्न आग्रह गरे ।

नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने भन्दै पौडेलले संविधान जारी गर्दा पनि संशोधनको विषय थाँती राखिएको स्मरण गर्न उनले एमाले लगायतका बिरोध गर्ने दललाइ आग्रह गरे । राजनीतिक अन्यौललाई टुंग्याएर निर्वाचनमा नगए देशमा झन् ठूलो समस्या आउने उनले धारणा राखे ।

मेलमिलाप दिवशमा नेताहरु रामचन्द्र पोखरेल, धु्रव वाग्ले लगायतका नेताले विपिको मेलमिलाप नीतिलाइ राजनीतिक दलहरु बीचमा ल्याउनुपर्नेमा जोड दिए । राष्ट्रियता, परराष्ट्र जस्ता नीतिमा सबै एक नभए देशको भविष्य खतरामा पर्ने उनीहरुले चेतावनी दिए ।

प्रकाशित मितिः   १६ पुष २०७३, शनिबार १७:१४