विधेयक संसद्मा पेस नै हुँदैन : भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधन विधेयक व्यवस्थापिका संसद्मा पेस गर्न नदिने बताएका छन्। प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले आज नयाँ बानेश्वरमा संशोधन प्रस्तावको विरोधमा ‘सडकबाटै समाचार लेखन’ कार्यक्रममा उनले सरकारले विधेयक जबरर्जस्ती पेस गर्न खोजे उच्चतम ढङ्गले प्रतिवाद गरी पेस गर्न नदिने बताएका हुन्।
सचिव भट्टराईले सरकारले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई संसद्मा ल्याएर संसद् र न्यायपालिकाबीच विवाद ल्याउन खोजेको आरोप लगाउँदै भने, ‘व्यवस्थापिका र न्यायपालिकाले एक अर्कालाई नियन्त्रण र सन्तुलन गरेका हुन्छन्, तर अहिले सरकार संसद्को सर्वोच्चतालाई खलबल्याउनका लागि अदालतमा विचाराधिन मुद्दालाई संसद्मा ल्याउन खोज्दै छ।’
एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले निर्वाचनको माध्यमबाट मुलुकमा स्थायित्व कायम गराउनु अहिलेको आवश्यकता भएको बताए।
सो अवसरमा प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल र महासचिव राजेश राईले विधेयक संविधान र नेपाली जनता हितविपरित भएको भन्दै सञ्चारकर्मीले त्यस्ता विधेयकका विरुद्ध समाचार सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गरे।
साझा बिसौनी ।