यस्ता छन्, सातौं राष्ट्रिय खेलकुदमा बनेका किर्तीमान

पाँच वर्षपछि भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। एक सातासम्म चलेको प्रतियोगिता फितलो व्यस्थापन, कमजोर अनुशासन, भौतिक पुर्वाधार अभावमा खेल्दै शुक्रबार सम्पन्न भएको हो। क्रिकेट, भलिबल लगायतका खेलमा अनुशासनहीनता छताछुल्ल हुँदै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलमा हुने निर्णयसहित प्रतियोगिता सम्पन्न भएको छ।

हतारमा गरिएको प्रतियोगितामा २ हजार ३ सय ३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा २ सय ९४ स्वर्णका लागि भएको प्रतियोगितामा १ सय १३ स्वर्ण त नेपाल आर्मीले आफ्नो पोल्टामा पार्यो। कमजोर व्यवस्थापनका साथ प्रतियोगिता सम्मन्न भएपनि केहि राष्ट्रिय किर्तीमान भने बनेका छन्।

राष्ट्रिय खेलकुदमा मुकुन्दको ह्याट्रिक

सशस्त्र प्रहरीको एपीएफ क्लबका कराते खेलाडी मुकुन्द महर्जनले लगातार तेस्रो स्वर्ण जित्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गरेका छन्। पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको पुरुष करातेको ६७ केजी तौल समूहमा स्वर्ण जित्दै उनले ह्याट्रिक गरेका हुन्। विराटनगरस्थित सहिद रङ्गशालामा भएको सुदूरपश्चिमका शेखु आलमलाई पराजित गर्दै महर्जनले स्वर्ण जितेका हुन्। यसअघि मुकुन्दले पाँचौ र छैठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए।

चन्द्रकला लामगादेको तीन राष्ट्रिय किर्तीमान

सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन पनि एक राष्ट्रिय कीर्तिमान बन्यो। नेपाल प्रहरीकी चन्द्रकला लामगादेले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै प्रतियोगितामा नयाँ कीर्तिमान कायम गरेकी हुन्। इटहरी ट्याक एण्ड फिल्डमा शनिबार भएको प्रतियोगितामा उनले ११।५६ मिटर थ्रो गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले गतवर्ष भारतमा भएको साग गेम्समा ११।०३ मिटरमा कीर्तिमान बनाएकी थिइन्। लामगादेले ज्याभलिन थ्रोमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले शनिबार सटपुटमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । आइतबार भएको ज्याभलिन थ्रोमा लामगादेले ४३।९४ मिटर थ्रो गरिन्। यसअघि उनले २०७२ सालफागुनमा साग खेलकुदको छनोट प्रतियोगितामा ४३।९० मिटर थ्रो गरेकी थिइन् । आफ्नै रेकर्ड ब्रेक गरेर उनले सातौं राष्ट्रिय खेलकुदमा लगातार दोस्रो रेकर्ड कायम गरिन्। इटहरी ट्याक एण्ड फिल्डमा शनिबार भएको सटपुट प्रतियोगितामा उनले ११।५६ मिटर थ्रो गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन्। उनले गत बर्ष भारतमा भएको साग गेम्समा ११।०३ मिटरमा कीर्तिमान बनाएकी थिइन्।

२०७० सालदेखि नेपाल प्रहरीमा आबद्ध भएपनि उनी सटपुट, ज्याभलिन र डिसकस थ्रोमा अन्यका लागि ठूलो चुनौती बन्दै आएकी छन्। यसअघि चालीसौं एथ्लेटिक्समा पनि उनले यस स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

स्यान्टु नयाँ च्याम्पियन

टेबल टेनिसमा नेपाल पुलिसका स्यान्टु श्रेष्ठ नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन्। श्रेष्ठले पुरुष एकलको फाइनलमा एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक कब्जा गर्न सफल भए। श्रेष्ठले सेमिफाइनलमा नेपाल पुलिसका नै तिन पटक च्याम्पियन भएका दीप साउनलाई पराजित गर्दै फाइनमा आफ्नो ठाउँ सुरक्षित गराउन सफल भएका छन्।

भारत्तोलनमा पुकारको किर्तीमान

प्रत्येक दिन नयाँ राष्ट्रिय कीर्तिमान बन्ने क्रममा भारोत्तोलनको अन्तिम दिन बुधबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बन्यो। राजविराजमा चार दिन चलेको भारोत्तोलनको प्रत्येक दिन नयाँ राष्ट्रिय कीर्तिमान बनेको हो। अन्तिम दिन पुरुष १०५ केजीमाथि नेपाल आर्मी क्लबका पुकार गुरुङले स्न्याचमा १२४ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको १२३ केजीको कीर्तिमानमा सुधार गरे। उनले गतवर्ष थाइल्यान्डमा भएको एसियाली च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएका थिए।
पुकारले स्न्याचमा १२४ केजी सहित क्लिन एन्ड जर्कमा १३५ केजी गरी कूल २५९ केजीभार उचाल्दै स्वर्ण जिते। मध्यमाञ्चलका राजीव महर्जन दोश्रो भए। उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११३ गरी जम्मा २०३ केजी वजन उठाए।

कमल र कमलाको राष्ट्रिय किर्तीमान

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको महिला ५८ केजीमा आर्मीकी कमला श्रेष्ठ र पुरुषको ८५ केजीमा आर्मीकै कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सप्तरीको राजविराजमा भएको खेलमा कमलाले स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ७९ केजी गरी जम्मा १४५ केजी भारवहन गर्दै तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन्। स्न्याचमा कमलाले झन्ट कट्वालले २०६२ सालमा ललितपुरको लुभूमा भएको दोस्रो राष्ट्रिय महिला भारोत्तोलनमा बनाएको ६५ केजीको कीर्तिमान भंग गरिन्। त्यस्तै कुलमा पनि कमलाले दोस्रो राष्ट्रियमै झन्टले नै बनाएको १४२ केजीको कीर्तिमान तोडिन् । क्लिन एन्ड जर्कमा भने कमलाले २०६८ सालमा उत्तम खत्रीले वीरगन्जमा भएको प्रथम शालिमार भारोत्तोलनमा बनाएको ७८ केजीको कीर्तिमान भंग गरेकीहुन् ।

१०औं सागका स्वर्णधारी आर्मीकै कमलले क्लिन एन्ड जर्कमा १५५ केजीभार वहनगर्दै श्रीलंकामा भएको १० औं दक्षिण एसियाली खेलकुद ९साग० मा ज्ञानबहादुर श्रेष्ठले स्थापित गरेको १५४ केजीको कीर्तिमान भंग गरे। उनले स्न्याचमा १०५ केजीसहित कुल २६० केजीभार उचाले।

देवीले गरिन् आफ्नै नामको किर्तीमान भङ्ग

राजविराजमा आइतबारदेखि भएको भारोत्तोलनमा चार स्वर्णको टुंगो लाग्दा महिला ५३ केजीमा प्रहरीकी देवी चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। देवीले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा७८ गरी कूल १३८ केजी भारवहन गर्दै राष्ट्रिय कीर्तिमान रचेकी हुन्। यसअघि देवीकै नाममा स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७७ केजीको कीर्तिमान थियो।

सोमबहादुर र चन्द्रकला उत्कृष्ट खेलाडी

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन्। सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते। चन्द्रकलाले सटपुट र ज्याभ्लिन दुवैमा कीर्तिमानी स्वर्ण जितिन्।

नेपालखबरबाट

प्रकाशित मितिः   १६ पुष २०७३, शनिबार १६:५२