मानव अधिकार उल्लंघन गर्नेहरु आयोगको कालोसूचीमा

राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले मानव अधिकार उल्लंघन गर्नेहरुको नाम सार्वजनिक गर्ने तयारी भइरहेको बताएकी छन् । उनले मानव अधिकार उल्लंघनका घटनामा संलग्न व्यक्तिहरुलाई कालोसूचीमा राखिसकेको बताइन् ।

आयोगले मानव अधिकार उल्लंघनका घटनाहरुको छानबीन गरी दोषी पाइएका सुरक्षाकर्मीहरुलाई कारबाहीको सिफारिस गरिसकेको छ । तर, सरकारले सिफारिस कार्यान्वन नगरेका कारण कालोसूचीमा परेका मानव अधिकार उल्लघंनकर्ताको नाम सार्वजनिक गर्न थालिएको हो । ‘आयोगले थुप्रै घटनाहरुको छानबीन गरी कारबाहीको लागि सिफारिस गरिसकेको छ । तर, कारबाही गरेको पाइएन,’ शनिबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाटमा प्रवक्ता अन्सारीले भनिन्, ‘सरकारले सिफारिस कार्यान्वयन नगर्दा दण्डहिनता बढेको छ ।’ उनले कालोसूचीमा राखेका व्यक्तिहरुको नाम सार्वजनिक गर्ने कार्य आयोगको योजनामै रहेको जानकारी दिइन् ।

मध्यपश्चिम क्षेत्रमा भएका मानव अधिकार उल्लंघनका १ सय ३३ घटनाको छानबीन गरी आयोगले कारबाहीको सिफारिस गरेको छ । गैर न्यायीक हत्या ४८ मध्ये तत्कालीन माओवादी पक्षबाट ३ र अन्य राज्य पक्षबाट भएका छन् । त्यस्तै, सुरक्षाकर्मीबाट ४९ जना र माओवादी पक्षबाट २ जनाको अपहरणका घटनाको आयोगले अनुसन्धान गरेको छ । भिडन्तको नाममा २ जनाको गैरन्यायीक हत्या, सामाजिक तथा आर्थिक अधिकारका ४, न्याय प्रशासनका २, बम विस्फोटका १ घटनाको अनुसन्धान गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मितिः   १६ पुष २०७३, शनिबार १७:१८