निर्वाचनतर्फ देश
आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले २०७९ साल मंसिर ४ गते आइतवार दुवै निर्वाचन एकैचरणमा गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले एक महिनाअघि नै एक सय २० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले एक सय सात दिनको अवधि राखेर प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए । लगत्तै निर्वाचनको मिति घोषणा गरिएको हो ।
मिति घोषणा भएसँगै चुनावी चर्चा सुरु भएको छ । राजनीतिक वृत्त तातिएको छ । कतिसम्म मभने पूर्वप्रधानमन्त्रीहरूलाई आगामी निर्वाचनमार्फत हराउनुपर्ने अभियान समेत चल्न थालेका छन् । यसले मतदाताको विकसित मनोविज्ञानलाई संकेत गर्दछ । त्यसो त यसपटक मतदाताको संख्या पनि बढ्ने छ । मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा पाँच लाख नयाँ मतदाता थपिने भएका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाता थिए । त्यसमा अब करिब पाँच लाख नयाँ थपिने छन् । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार, असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा करिब साढे चार लाख जनाले नाम दर्ता गरेका छन् । ६ महिना अघिसम्म मतदाता नामावली संकलन भएकाले यो अवधिमा निकै थोरैमात्रै नयाँ नाम संकलन भएको हो ।
अर्कोतर्फ चुनावका लागि आइतवारदेखि दल दर्ता प्रक्रिया सुरु हुने भएको छ । समानुपातिक चुनावका लागि बन्दसूची पहिला नै तयार पार्नुपर्ने भएकाले त्यसैअनुसार तयारी हुनेछ । अहिले निर्वाचन आयोगमा एक सय १४ दल दर्ता छन् । तर, आगामी चुनावी प्रयोजनका लागि कति दल दर्ता हुन्छन् भन्ने यकिन छैन । संसद्को कार्यकाल चार महिना बाँकी राखेर सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति तोकेको छ । निर्वाचनलाई लोकतन्त्रको आत्मा मान्ने गरिन्छ । यो किनपनि महङ्खवपूर्ण छ भने पाँच÷पाँच वर्षमा मतदाताले आफ्ना जनप्रतिनिधि चुन्न पाउँछन् । आगामी पाँच वर्ष सरकारको नेतृत्व कसले गर्ने भन्ने निक्र्यौल निर्वाचनबाट हुनेछ । त्यसैले पनि यसको महत्वछ । कस्तो नेतृत्व छान्ने भन्ने कुरा भने मतदाताको रोजाइ र विवेकमा निर्भर हुनेछ ।
प्रकाशित मितिः २२ श्रावण २०७९, आईतवार ०५:०३
साझा बिसौनी ।