महिला उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड
सुर्खेत: महिलाहरूलाई उद्यमशिलतामा लाग्न प्रोत्साहन गर्ने खालका नीति तथा कार्यक्रम आवश्यक रहेको सरोकारवालाले बताएका छन् । युवा उद्यमी मञ्च सुर्खेतले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यशालाका सहभागीले महिलाहरूलाई स्वरोजगारमूलक सीपका अवसर र व्यवसायमा प्रोत्साहन गर्नुपर्ने औंल्याएका हुन् । कार्यशालालाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगरपालिकाले महिलाहरूलाई उद्यम र आय–आर्जनका गतिविधिमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । महिलाहरूलाई उद्यमका क्षेत्रमा लगाउने तथा उनीहरूको सीप विकास गर्ने नगरपालिकाको नीति रहेको उनले जनाइन् । ‘स्थानीय स्रोत–साधनको परिचालन गरेर उद्यम गर्ने तथा सीप सिकेर स्वरोजगार बन्न चाहनेलाई हामी सधैँ सहयोग गर्न तयार छौँ,’ उनले भनिन्, ‘महिला सशक्तिकरण र सहभागिताका लागि पनि आत्मनिर्भर हुन जरुरी छ ।’ महिला उद्यमीलाई हौसला दिन उनीहरूद्वारा सञ्चालित व्यवसायमा ५० प्रतिशतसम्म कर छुटको व्यवस्था गरिएको प्रमुख ढकालले बताइन् । नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन सीप विकासमा बढी जोड दिएको भन्दै उनले भनिन्, ‘लगानीभन्दा पनि सीप मुख्य कुरा हो । सीप सिके राज्यको अनुदानविना पनि उद्यम गर्न सकिन्छ ।’
कार्यशालाका सहभागीले स्थानीय स्रोत–साधनमा आधारित साना तथा घरेलु उद्योगहरूको विकासमा सरोकारवालाहरूको ध्यान जानुपर्ने बताएका थिए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले आफ्नै उत्पादनले मात्रै कर्णाली समृद्ध बन्ने भन्दै उत्पादनमूलक उद्यममा युवा जनशक्तिलाई आकर्षित गर्नुपर्ने धारणा राखे । पछिल्लो समय महिलाहरूले सञ्चालन गरेका उद्योग तथा व्यवसायको संख्यामा समेत वृद्धि भएको कँडेलले जनाए । स्थानीयस्तरमा उत्पादित वस्तुको बजारिकरण र महिला उद्यमीलाई प्रोत्साहन गर्ने सवालमा नीजि क्षेत्र लागि परेको उनको भनाइ थियो । त्यस्तै, सनराइज बैंक शाखा सुर्खेतका प्रबन्धक सुस्मा गिरीले उद्यम गर्न चाहने महिलाहरूका लागि सहुलियत ब्याजदरमा कर्जा सुविधा रहेको जनाइन् । उनले कार्यशालामा महिला उद्यम र अवसरका विषयमा कार्यपत्रसमेत प्रस्तुत गरेकी थिइन् । एकदिने कार्यशालामा विभिन्न क्षेत्रमा उद्यम गरिरहेका युवा तथा महिला उद्यमीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः २२ श्रावण २०७९, आईतवार १८:३६
साझा बिसौनी ।