रैथाने बाली संरक्षण

कर्णाली प्रदेशमा केही वर्षअघिसम्म फापर, जौं, कागुनो, आलु, चिनो, मार्सी धान, उवा, कोदो, मकै, सिमी, मास र गहतको उत्पादन निकै राम्रो थियो । तर पछिल्लो समय कमी हुँदै गएको छ । रैथाने बाली नासिँदै गएका छन् । उत्पादन कम हुने र बजारीकरणको समेत समस्याका कारण रैथाने बालीप्रति किसानहरूको आकर्षण घट्दो छ । प्रदेशका सबैजसो जिल्लामा रैथाने अर्थात् परम्परागत बालीको उत्पादन न्यून भइरहेको छ । पहिले प्रदेशका अधिकांश क्षेत्रमा यी अर्गानिक रैथाने बालीको ठूलो क्षेत्रफलमा खेती हुन्थ्यो । बालीमा रासायनिक मलको प्रयोग निकै कम गरिन्थ्यो । पछिल्लो समय पुराना बालीको खेती गर्न छाडिएको छ भने त्यस्ता बालीलगाएका ठाउँमा पनि रासायनिक मलको प्रयोग बढ्न थालेको छ ।

रैथाने बाली प्रवद्र्धन तथा विकासका लागि तीन तहकै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर, कृषककै रुचि कम हुँदा खाद्य सुरक्षा र पोषणका हिसाबले राम्रो मानिने बालीको संरक्षणमा चुनौती देखिएको छ । परम्परागत बालीबाट उत्पादन न्यून हुन थालेपछि भोकमरीको समस्या समेत बढ्दो छ । किसानले पुराना बाली लगाउन छोड्दा उत्पादनमा कमी हुँदै परनिर्भरता बढेको कृषि क्षेत्रका जानकारहरू बताउँछन् । कर्णालीका ६ जिल्ला अहिले पनि खाद्यान्नमा परनिर्भर छन् । किसानलाई परम्परागत तथा रैथाने बालीको महत्व बुुझाउन नसक्दा आकर्षण घटेको हो । पछिल्लो समय सरकारले कृषक प्रोत्साहनका कार्यक्रम भने सञ्चालन गर्न थालेको छ । प्राङ्गारिक र परम्परागत कृषि वस्तुको उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न क्षमता अभिमूखिकरणलगायतका कार्यक्रम सञ्चालन गरिँदै आएका छन् । रैथानी बाली प्रवद्र्धनका लागि किसानका लागि तालिमसँगै लेबलिङ र प्याकेजिङ्ग गरेर बिक्री गर्नेलाई अनुदान दिने गरिएको छ । परम्परागत खेतीमा किसानहरूको आकर्षण घटिरहेको देखिए पनि प्रोत्साहनमूलक कार्यक्रमको सकारात्मक प्रभाव भने पर्दै गएको देखिन्छ ।

सरकारले बाली संरक्षका लागि विभिन्न कार्यक्रम लागू गरेपनि अपेक्षाकृत रूपमा उत्पादन भने बढेको छैन । उत्पादन थोरै भए पनि यहाँका परम्परागत अन्नबालीको बजार माग बढ्दो छ । कर्णालीको सिमी र मार्सी चामलको माग स्वदेशमा मात्र नभइ विदेशमा पनि हुने गरेको छ । चालु आर्थिक वर्षमा पनि कर्णाली प्रदेश सरकारले रैथाने बाली संरक्षणका लागि नीति कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ । रैथाने प्रजातिका कृषि उत्पादन सिमि, कागुनो, चिनो, मार्सी धान, मकैै गहुँ जौ तथा फापर उत्पादन गरी ‘कर्णाली ब्राण्ड’को रूपमा प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको छ । रैथाने बालीको परीक्षण, संरक्षण र प्रवद्र्धनका साथै बीउ प्रसारण, प्रशोधन, भण्डारण र बजारीकरणका कार्यक्रममा तीनै तहका सरकारले ध्यान दिन सके रैथाने बाली संरक्षण गरी नागरिकको जीवनस्तर सुधार्न सकिन्छ ।

प्रकाशित मितिः   २० श्रावण २०७९, शुक्रबार ०५:०३