कर्णालीका तीन विमानस्थलको स्तरोन्नति गरिँदै

सुर्खेत: चालु आर्थिक वर्षमा कर्णालीका तीन वटा विमानस्थलको स्तरोन्नति गरिने भएको छ । नागरिक उड्डयन प्राधिकरणले ती विमानस्थलको टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । कर्णालीसहित प्राधिकरणले देशभरका १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माण गर्न लागेको हो । प्राधिकरणले यसका लागि कूल एक अर्ब ५१ करोड ६३ लाख रूपैयाँ बजेट छुट्याएको छ । कर्णालीमा डोल्पाको मसिनेचौर विमानस्थल टर्मिनल भवन निर्माण गर्न १५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, जुम्ला विमानस्थलका लागि एक करोड र मुगुको रारा विमानस्थलको टर्मिनल भवनका लागि पाँच करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । देशभरका विमानस्थल सुविधा–सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ । निरन्तर कार्यक्रमअन्तर्गत प्राधिकरणले विमानस्थलमा नयाँ टर्मिनल भवन बजेट विनियोजन गरेको हो । नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल टावर बनाउन २६ करोड २१ लाख बजेट दिने भएको छ ।

प्रकाशित मितिः   २० श्रावण २०७९, शुक्रबार ०५:०१