जुम्लामा डायलासिस सेवा

जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डायलासिस सेवा सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु गर्न लागिएको हो । प्रतिष्ठानका निर्देशक डा. राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गाैलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन । मन्त्रालयले प्रतिष्ठानलाई पाँच सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन सुरु गरिने भएको छ । ‘अस्पतालमा मिर्गाैलारोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका थिएनौं,’ शाहले भने, ‘अब भने जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ ।’

अस्पतालले आकस्मिक सेवा, बहिरङ सेवा, अन्तरङ सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ । यस्तै, मन्त्रालयले सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि चार थान डायलायसिस उपकरण उपलब्ध गराएको छ । मिर्गौलाले काम नगरेका बिरामीको शरीरमा जम्मा भएको फोहरलाई सफा गर्ने पद्धति डायलासिस हो । उक्त सेवा कर्णालीमा नहुँदा मृर्गौलाका बिरामीहरू डायलासिस गर्न प्रदेश बाहिर जानुपर्ने बाध्यता थियो । अब भने प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाटै यो सेवा लिन सकिने छ ।

प्रकाशित मितिः   १९ श्रावण २०७९, बिहीबार ०५:०२