विद्यालयमा उद्यम कार्यक्रमका लागि प्रस्ताव माग
सुर्खेत: विद्यालयमा उद्यम कार्यक्रम सञ्चालनका लागि व्यावसायिक परियोजना प्रस्ताव आह्वान गरिएको छ । उद्यम कार्यक्रम स्थापना गर्न इच्छुक सामुदायिक माध्यमिक विद्यालयहरूलाई ३० दिनभित्र प्रस्ताव पेस गर्न भनिएको छ । राष्ट्रिय युवा परिषद्को चालु आवमा स्वीकृत वार्षिक कार्यक्रमअनुसार एक शिक्षण संस्था एक उद्यम कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालयलाई प्रस्ताव माग गरिएको हो ।
निर्धारित मूल्याङ्कनका आधारमा विद्यालयको स्थलगत निरीक्षण गरी प्रत्येक प्रदेशवाट एक÷एक र संघबाट एक गरी आठ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने भएको छ । छनोट भएका विद्यालयलाई बिउ पुँजीको रूपमा एकमुष्ठ अनुदान उपलब्ध गराउने बताइएको छ । विद्यालयको आफ्नै प्रयासमा उद्यम स्थापना गरेको र उत्पादनमूलक उद्यम सञ्चालन गर्ने सामुदायिक माध्यमिक विद्यालयलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ । गत वर्षहरूमा संघ, प्रदेश तथा स्थानीय तहबाट एक शिक्षण संस्था एक उद्यम कार्यक्रम, पढ्दै कमाउँदै कार्यक्रम र शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट नमूना विकासका लागि छनोट भएका विद्यालयहरूलाई यस कार्यक्रममा समावेश नगरिने हुँदा कार्यक्रममा नपरेको स्वघोषणा गर्नुपर्नेछ । एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन (पहिलो संशोधन) कार्याढाँचा–२०७९ बमोजिम सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र व्यावसायिक परियोजना प्रस्ताव पेसगर्न सूचित गरिएको छ ।
विद्यालयमा उद्यम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता सहितको स्थानीय तहको सिफारिश, विद्यालयमा उद्यम स्थापना गर्ने व्यवस्थापन समितिको प्रतिवद्धताको निर्णय, उद्यमी विद्यार्थी क्लब गठन भएको र उद्यम गर्ने प्रतिवद्धतासहितको निर्णयको प्रतिलिपि तथा पदाधिकारीहरूको विवरण, बैंक तथा वित्तीय संस्थामा उद्यम कोष स्थापना गरेको प्रमाण पेस गर्नुपर्ने छ । त्यस्तै, विद्यालयमा उद्यम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धतासहितको पूर्व विद्यार्थी मञ्च गठन भएको निर्णयको प्रतिलिपि र पदाधिकारीहरूको विवरणसहित प्रस्ताव पेस गर्न परिषद्ले सूचना जारी गरेको छ ।


साझा बिसौनी ।