अपराधको शैली बदलिँदा सुरक्षा चुनौती
सुर्खेत: पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगले अपराधका शैली र प्रकृति फेरिँदा सुरक्षा चुनौती थपिएको बताइएको छ । बुधवार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा प्रहरी अधिकारीहरूले यस्तो बताएका हुन् । कर्णालीमा सीमित स्रोत–साधनकाबीच पनि प्रहरीले उत्कृष्ट काम गर्दै आएको समेत दाबी गरिएको छ । कर्णालीमा प्रहरीले अपराध अनुसन्धानमा उल्लेखनीय काम गरेको प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकालले बताए । न्यून स्रोत र साधनबाट सेवा दिनुपर्ने अवस्था रहेको भन्दै उनले नेपाल प्रहरीले अपराध नियन्त्रणमा उत्कृष्ट काम गर्दै आएको बताए । ‘पछिल्लो वर्षहरूमा प्रविधिको प्रयोगसँगै अपराधका प्रकृतिहरू बदलिँदा भने नागरिकको सुरक्षामा चुनौती थपिएको छ,’ उनले भने ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले संघीय सरकारले प्रहरी परिचालन र व्यवस्थापनको अधिकार प्रदेशलाई दिन आलटाल गरिरहेको बताए । मन्त्री शाहीले भने, ‘प्रदेशलाई कुहिरोको कागजस्तै बनाइयो, अधिकार दिएजस्तो गरेर साँघुरो घेरामा राख्ने काम भयो ।’ उनले प्रदेशलाई प्रहरी परिचालनको स्पष्ट अधिकार नदिइएको भन्दै संघ सरकारप्रति आक्रोश पोखे । संघीय सरकारले प्रदेशको स्पष्ट बाटो देखाइदिनुपर्ने जनाए । कर्णालीका प्रहरी संरचनाहरू अझै पनि लुम्बिनी प्रदेशबाट सञ्चालित भइरहेकोप्रति मन्त्री शाहीले टिप्पणी गरे । प्रहरीको व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेपनि अधिकार प्रत्यायोजन नगरिएको उनको भनाइ थियो । प्रदेश प्रहरी कार्यालयका अनुसार १० जिल्लामा जिल्ला प्रहरी कार्यालय, एक सय २३ वटा प्रहरी चौकी र ५३ वटा अस्थाई प्रहरी चौकी छन् । प्रहरीले साधन–स्रोतको अभावमा पनि शान्ति सुरक्षा कायम र अपराध अनुसन्धानका क्षेत्रमा काम गर्नुपर्ने बाध्यता छन् । सुरक्षा गोष्ठीमा १० वटै जिल्लाका प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृतहरू सहभागी थिए ।
प्रकाशित मितिः १९ श्रावण २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।