जिल्ला लिग सुरु, वीरेन्द्रनगरको विजयी सुरुवात

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ फागुन । 
साविक विजेता वीरेन्द्रनगर स्पोर्टस् क्लब (सैनिक आवासीय मावि) ले यसवर्षको जिल्ला लिगमा पनि विजयी सुरुवात गरेको छ । शनिवार भएको उद्घाटन खेलमा न्यू जेनेरेशनमाथि फराकिलो जीत हात पार्दै वीरेन्द्रनगरले लिगमा विजयी सुरुवात गरेको हो ।
न्यू जेनेरेशनमाथि वीरेन्द्रनगरले १ का विरुद्ध १० गोलको फराकिलो जीत निकालेको हो । उद्घाटन खेलमा हात पारेको पहिलो जीतसँगै साविक विजेता टोलीले तीन अङ्कसहित लिग तालिकामा खाता खोल्न सफल भएको छ । प्रतियोगिताकै पहिलो ह्याट्कि गर्ने क्रममा विजेता टोलीका शिव खड्काले ५ गोल गर्दा विष्णु दुवालको नाममा २ गोल रह्यो भने वीरेन्द्रनगरका लक्ष्मण शाही, पवन शाही र रमेश श्रेष्ठले १/१ गोल गरेका हुन् । न्यू जेनेरेशनका लागि दिपेश बुढाले सान्त्वना गोल फर्काए । 
प्रतियोगिता अन्तर्गत आज (आइतवार) दुई वटा खेल हुने भएको छ । दिउँसो २ बजे हुने पहिलो खेलमा दुई नवप्रवेशी क्लब साथी खोर्के युवा क्लब (स्काइ) र सिद्धपाइला तथा दोस्रो खेलमा कालिमाटी स्पोर्टस् क्लब र बावियाचौर स्पोर्टस् क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । लिग विजेता टोलीले हालसम्मकै सर्वाधिक ४० हजार नगद पुरस्कार पाउने सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेलाई नगद पुरस्कार दिइने उनले जनाए । फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका १० वटा क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनलदेखिका खेलहरूबाट २० रूपैयाँ टिकट शुल्क तोकिने आयोजक सुर्खेत जिल्ला फुटबल संघले जनाएको छ ।