निःशुल्क स्वास्थ्य शिविर

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ फागुन । 
लियो क्लब अफ भैरवस्थानको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर भैरवस्थानको कालुचौकमा सम्पन्न भएको छ । शिविरमा ८० जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि प्रदान गरिएको छ । 
सामाजिक सेवा अन्तर्गत क्लबले आयोजना गरेको शिविरमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका डा. अनिता दाहाल र होमबहादुर गुरुङ्गले स्वास्थ्य जाँच गरेको क्लबका अध्यक्ष मुकुन्द पन्तले जानकारी दिए । 
यसैबीच बुधवारदेखि विद्यापुरबाट सुरु भएको निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । चार दिनसम्म चलेको उक्त शिविरमा पाँच सय ७८ नागरिकले आँखा जाँच गराएको स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष राजेश बुढाले बताएका छन् । शिविरमा आएका नागरिकहरूमध्ये ४८ जनालाई मोतिविन्दु अप्रेशनका लागि छनौट गरिएको छ । यसैगरी ३६ जनालाई निःशुल्क चश्मा वितरण गरिएको अध्यक्ष बुढाले जानकारी दिए । नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतको आयोजनामा भएको शिविरमा आँखा अस्पताल सुर्खेत र ज्येष्ठ नागरिक सञ्जाल गुटुको सहयोगमा पश्चिम सुर्खेतका चार वटा गाविसमा सञ्चालन गरिएको थियो । संघका अध्यक्ष बुढाले दिएको जानकारी अनुसार विद्यापुरमा दुई सय  ५२, बेतानमा ६९, बिजौरामा एक सय ५४, लगाममा एक सय तीन जनाले आँखा जाँच गराएका थिए । पश्चिममा भएको शिविरबाट छनौट भएका बिरामीका लागि गुटुमा फागुन २२ गतेदेखि तीनदिने अप्रेशन शिविर गरिने भएको छ । संघका अनुसार १८ गते पूर्वी सुर्खेतको नेटामा महिलाको पाठेघरको क्यान्सर र अन्य रोगको जाँचका लागि शिविर हुने भएको छ ।
प्रकाशित मितिः   १६ फाल्गुन २०७२, आईतवार १०:५२