क्षेत्रीय अस्पतालमा ‘मिशन सरसफाइ’

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ फागुन । 
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतले मिशन सरसफाइ अभियान सुरु गरेको छ । पर्याप्त भौतिक संरचना तथा कर्मचारी अभाव झेलिरहेको अस्पतालले परिसरभित्र हुने दैनिक फोहोर व्यवस्थापन गर्न डाक्टर, नर्स, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको सहयोगमा ‘मिशन सरसफाइ’ अभियान सुरु गरेको हो । 
चौथो स्वास्थ्य सेवा दिवसको अवसर पारेर शनिवारदेखि अस्पतालले सुरु गरेको ‘मिशन सरसफाइ’ अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, विद्यार्थी, लाइन्स क्लब, सुर्खेत उद्योग वाणिज्य संघ तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको छ । 
सरसफाइ अभियानलाई स्थानीय सरोकारवालाहरूको सहयोगमा निरन्तरतता दिइने अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा. डम्बर खड्काले बताए । उनले यस अभियानलाई जीवन्त बनाउन डाक्टर, नर्स, अस्पताल कर्मचारी प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, विद्यार्थी, लाइन्स क्लब, सुर्खेत उद्योग वाणिज्य संघ तथा स्थानीय सरोकारवालाहरूको सहयोगमा सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिए । 
अस्पतालले सुरु गरेको स्वच्छ र सफा अभियानमा हातेमालो गर्न आफूहरू तयार रहेको एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द गिरीले निर्देशक मुकुन्द गिरीले बताए । सरसफाइ निरन्तर प्रक्रिया भएकाले यसलाई साझा अभियानका रूपमा लैजान बालग्रामले आवश्यक सहयोग र समन्वय गरेर अगाडि बढ्ने जनाए । 
अस्पताललाई सरकारले चाहे जति सहयोग उपलब्ध गराउन नसक्दा कर्मचारी अभावका कारण सरसफाइमा समेत कठिनाइ उत्पन्न भएपछि सबैको सहयोगमा मिशन सरसफाइ अभियान सुरु गरिएको अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले बताए । उनले अबदेखि सरकारको भरपर्नु भन्दा आफ्नै स्रोत साधन तथा स्थानीय बासिन्दाको स्वैच्छिक सहयोगमा अभियानमुखी सरसफाइ कार्य सञ्चालन गरिएको जनाए । 
प्रकाशित मितिः   १६ फाल्गुन २०७२, आईतवार १०:५५