जिल्ला परिषद् सम्पन्नः करिब चार अर्ब बजेट प्रस्ताव
साझा बिसौनी संवाददाता
सुर्खेत, १५ फागुन ।
परिषद् सुर्खेतले आर्थिक वर्ष २०७३÷७४ को लागि तीन अर्ब ९६ लाख ५५ हजार रूपैयाँको बजेट प्रस्ताव गरेको छ । स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले आर्थिक वर्ष २०७३÷०७४ को लागि पूँजीगत तर्फ तीन अर्ब १० करोड ६७ लाख र चालुतर्फ ८५ करोड ८७ लाख ७३ हजार रूपैयाँ प्रस्ताव गरेका हुन् ।
पूर्वाधार निर्माणमा ९६ करोड ८३ लाख ५५ हजार, आर्थिक विकासतर्फ ९३ करोड ११ लाख ७६ हजार, सामाजिक समिति अन्तर्गत ५५ करोड ७८ लाख ८५ हजार, वन तथा वातावरण संरक्षण अन्तर्गत ३८ करोड २७ लाख ९४ हजार, जिल्ला विकास समितितर्फ ६६ करोड ८९ लाख ८३ हजार र गैरसरकारी संघ–संस्थातर्फ ४५ करोड ६२ लाख ८० हजार रूपैयाँ प्रस्ताव गरिएको हो ।
आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रेग्मीले पेश्की फछ्र्यौट नगरेसम्म कुनै पनि सेवा सुविधा, कार्यक्रम तथा अवसर प्रदान नगर्ने नीति लिइएको जानकारी दिए । प्रत्येक आर्थिक वर्षको वैशाखदेखि कुनै पनि कार्यक्रम, आयोजना स्वीकृत नगरिने स्पष्ट पार्दै ६० प्रतिशत योजनाहरू जेठ मसान्तभित्र फरफारक गर्ने व्यवस्था मिलाइने बताइएको छ । जिविस र गाविसबाट सञ्चालित विकास निर्माणका लागि राजनीतिक दल, कर्मचारी, शिक्षक, निर्माण व्यवसायीको प्रतिनिधित्व उपभोक्ता समितिमा नगराउने नीतिलाई कडाइको साथ कार्यान्वयन गर्ने बताइएको छ ।
सुख्खा क्षेत्रलाई कम गर्नको लागि एक गाविस एक पोखरी निर्माण योजना अघि बढाउने, हरियाली बढाउन सडकको छेउछाउमा वृक्षारोपण गर्ने, वायु ऊर्जा उत्पादनमा जोड दिने योजनापछि परिषद्ले अघि सारेको छ । परिषद्ले आगामी आर्थिक वर्ष २०७३÷०७४ को लागि सडक यातायात तथा खानेपानी, भौतिक विकास आवास तथा बस्ती विकास, सूचना सञ्चार विज्ञान प्रविधि र ऊर्जा क्षेत्रको विकासका लागि पनि विशेष योजनाहरू अघि सारेको छ । कृषि, सिँचाइ तथा पशुपालन, पर्यटन प्रबद्र्धन, उद्योग, वाणिज्य, सहकारी, युवा तथा तथा खेलकुद, कला, संस्कृति, भाषा र साहित्यको विकासको लागि पनि विभिन्न महŒवकांक्षी योजनाहरू अघि बढाएको छ । अपाङ्गमैत्री, लैंगिकमैत्री क्रियाकलाप सञ्चालनमा जोड दिने, बालविवाह, बालशोषण र बालश्रम उन्मूलन गर्नको लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, अनाथ, असहाय, हिंसा पीडित महिला बालबालिका, ज्येष्ठ नागरिकलाई प्रारम्भिक बासस्थानको कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।
परिषद्को उद्घाटन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले विकास निर्माणको लागि आएको बजेट अन्यत्रै खर्च हुने गरेको गुनासो आएको भन्दै विकासको लागि आएको बजेट विकास निर्माणमै खर्च गर्न सुझाव दिइन् । उनले जनताका चाहना अनुसार विकास निर्माणका गतिविधि अघि बढाउन आग्रह गर्दै विकासमा राजनीति नगर्न समेत सुझाव दिइन् । विकास निर्माणले नै जनताले सरकारी कामको मूल्याङ्कन गर्ने भन्दै शाहीले राजनीतिक स्वार्थलाई विकासमा जोड्न नहुने जिकिर गरिन् ।
परिषद्मा सांसद सीता नेपाली, पूर्वमन्त्री एवम् नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य यामलाल कँडेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य डिल्लु घिमिरे, गाविस सचिव हकहित संरक्षण केन्द्रका श्यामलाल खराल, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायत विभिन्न राजनीतिक दल, सरकारी कार्यालय तथा संघ–संस्थाका प्रतिनिधिहरूले परिषद्मा शुभकामना मन्तव्य राखेका थिए । यसैबीच जिल्लाको विकासमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ । पत्रकारितामार्फत् योगदान पु¥याएवापत पत्रकार सुशील खड्कालाई सम्मान गरिएको छ ।
साझा बिसौनी संवाददाता ।