दुर्घटनाको श्रृङ्खला
एकै सातामा दुई पटक जहाज दुर्घटना भएपछि हवाई यातायातको सुरक्षाका बारेमा पुनः बहस हुन थालेको छ । हवाई दुर्घटनाले ठूलो मानविय क्षति निम्त्याउने गरेको छ । जसबाट मुलुकले क्षति व्यहोरिरहेको छ । यस पटक मात्र होइन यसअघि पनि पटक पटक दुर्घटनाहरू हुने गरेका थिए । हवाई यातायातका दृष्टिले नेपाली आकाशलाई असुरक्षित समेत भन्ने गरिएको छ । युरोपियन युनियनले नेपालका विमानलाई कालोसूचीमा राखिरहेको तथा असुरक्षित भनिरहेको अवस्थामा पछिल्लो पटक भएका दुर्घटनाले थप चासो र चिन्ता भएको छ । किनभने, यो समग्र हवाईसँगै पर्यटन व्यवसायको भविष्यसँग जोडिएको छ । सन् १९५५ मा सिमरा विमानस्थलमा भएको कालिङ्गा एयरको विमान दुर्घटनालाई नेपालको पहिलो हवाई दुर्घटना मान्ने गरिन्छ । त्यति बेला दुई जनाको मृत्यु भएको थियो । त्यसयता छ दशकमा दर्जनौं विमान दुर्घटना भएका छन् । म्याग्दीमा बुधवार र कालिकोटमा शुक्रवार भएका दुर्घटनाले त्यही श्रृङ्खलालाई निरन्तरता दिएका छन् । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टे भिरमा ठोक्किँदा चालक दलका तीनसहित २३ जनाको मृत्यु भयो । त्यसको तीन दिन बित्न नपाउँदै नेपालगन्जबाट जुम्ला उडेको एयर काष्ठमण्डपको विमानलाई कालिकोटको चिलखाया–२ मा ‘फोर्सल्यान्डिङ’ गर्दा दुई जनाको ज्यान गयो ।
अनुभवी चालक रोशन मानन्धरले चलाएको तारा एयरको विमान दुर्घटना हुनुको कारणमा प्रतिकूल मौसमलाई अनुमान गरिएको छ । पाँच महिनाअघि मात्र क्यानडाबाट ल्याइएको उक्त विमान नयाँ थियो । एउटा इन्जिनयुक्त एयर काष्ठमण्डपको विमान दुर्घटनामा परेपछि सरकारले केही समयका लागि त्यस्ता विमानको उडानमा रोक लगाएको छ । सरकारले दुवै दुर्घटनाका विषयमा छानविन गर्न समिति गठन गरिसकेको छ । विगतमा पनि यस्ता दुर्घटना हुँदा तत्काल छानविन समिति गठन हुन्थे । तर, समितिले औंल्याएका कमजोरी सुधार्न सम्बन्धित निकाय गम्भीर नबन्ने गरेको टिप्पणी हुने गरेको छ । अधिकांश छानविन समितिले मानवीय कारण भनेर दुर्घटनामा ज्यान गुमाइसकेका चालकलाई दोषी औंल्याएर अरू निकायलाई उन्मुक्ति दिने गरेको भनेर पनि आलोचना नहुने गरेका होइनन् । सडक मार्गले जोड्न नसकेका ठाउँमा आउजाउ गर्न र छिटोछरितोका लागि हवाईयात्रा विकल्प हो । हवाईयात्रा आफैंमा संवेदनशील र जोखिमपूर्ण छ । तर, सेवा बन्द समाधान होइन । जिम्मेवार निकायले यसलाई सुरक्षित र भरपर्दो बनाउनुपर्छ । नेपालमा सामान्यतया यान्त्रिक खराबी, मानवीय त्रुटी, प्रतिकूल मौसम, भौगोलिक विकटताजस्ता कारणले विमान दुर्घटना हुने गरेका छन् । जहाज पुरानो हुनु, मर्मतसम्भार नियमित नहुनु तथा उडान भर्नुअघि परीक्षण नगर्नु पनि यान्त्रिक खराबीका कारण हुन सक्छन् जसलाई नियमन गरेर हवाई यात्रा सुरक्षित बनाउन सकिन्छ ।
यस्तै, प्राविधिक रूपमा सुरक्षित खालका विमानलाई मात्र उडान भर्न दिने गरे पनि सेवा भरपर्दो बन्न सक्छ । हवाईयात्रा सुरक्षित बनाउन चालक दलको उल्लेख्य भूमिका हुन्छ । छिनछिनमा फेरबदल भइरहने मौसमले पनि नेपालमा हवाईयात्रा जोखिमपूर्ण बनाएको छ । यस्तो जोखिमबाट जोगाउने खालका प्रविधि उपयोगमा ध्यान दिन जरुरी छ । कतिपय अवस्थामा गन्तव्यमा पुग्ने हुटहुटीले यात्रुले समेत छिटो उडानका लागि दबाब दिने गर्छन् । त्यसैले यात्रुले पनि संवदेनशीलतालाई ख्याल गर्नुपर्छ । हवाईसेवा हेलचक्र्याइँ गर्ने क्षेत्र होइन । यो सिधै मान्छेको ज्यानसँग जोडिएको हुन्छ । श्रृङ्खलाबद्ध दुर्घटनाका कारण पर्यटक घट्दा हवाईसेवा प्रभावित हुन्छ नै, पर्यटन व्यवसायमा समेत क्षति पुग्छ । त्यसैले हवाईसेवालाई सुरक्षित र विश्वसनीय बनाउन सरकार, सम्बन्धित निकाय तथा व्यवसायीहरू गम्भीर बन्नुपर्छ ।
प्रकाशित मितिः १७ फाल्गुन २०७२, सोमबार १२:१८
साझा बिसौनी संवाददाता ।