र भगवान् पनि निर्दोेष छैनन्

दिनेश गौतम
अल व्याड थिङ ह्यापन्ड विकज अफ गड । हामी सबै यही भन्छौ, यहाँ जे नराम्रो हुन्छ, त्यसमा भगवान दोषी छन् । कतिले भगवान्को साटो भनिदिएको हुन सक्छन् कि भाग्यले नै साथ नदिएको हो । हामी किन छौं ? किनभने यहाँ हाम्रो अस्तित्व छ र यहीं रचिएको छ हाम्रो जीवन । हामी यहाँ हुनुपर्ने बाध्यात्मक परिस्थिति छ र यदि यी चाहनाहरूबाट उन्मुक्ति खोज्ने हो भने जीवन नरोजे हुन्छ हामीले । थोमस एल्वा एडिसनले भन्थे, ‘दिएर इज नो सव्सिच्यूट अफ हार्डवर्क’ । हुन पनि हो, कडा परिश्रम बाहेक अरु विकल्प नै छैन । अझ के पनि हो भने ‘दिएर इज वन्ली वन अल्टरनेटिभ अफ लाइफ, द्याट इज डेथ ।’ जीवन नजिउन खोज्नुको एकमात्र विकल्प जीवनको समाप्ती हो ।  हरेक मान्छे जुनसुकै हालतमा मर्न चाहदैन र मर्न नचाहनुको अर्थ हो जीउन खोज्नु । हामीले जीउन खोजेको जीवनको कग्निटीभ डिसोनेन्स 
(मानसिक विरोधाभाष) बडो अचम्मको छ । हामी यही रहनुपर्छ जहाँ रहन पर्नेछ वा रहनु अनिवार्य छ । मन त कसैको पनि कहिल्यै एकनाश हुँदैन कसैप्रति, बदलिन्छ वारवार जति तपाईं बदलिन चाहनुहुन्छ वा सक्नुहुन्छ । कहिले काहीं तपाईंले चाहेभन्दा बढी बदलिनुहुन्छ तपाईं र त्यतिबेला तपाईंलाई लागेको हुनुपर्छ, ‘यो सब भाग्यको खेल हो ।’ मलाई अनि सबैलाई, यो संसारका सबै मानिसलाई लाग्ने त्यही हो, राम्रा कुराहरू सबै हाम्रो प्रयत्नबाट भएका हुन्छन् र जति नराम्रा कार्यहरू हामीबाट हुन्छन्, हामी सोच्छौं, त्यो सब नियतको खेल हो । भाग्यले हामीलाई साथ दिएकै होइन । मैले उल्लेख गर्न खोजेको यही हो, हाम्रो मस्तिष्क किन हाम्रा सकारात्मक प्रतिफलहरू वा प्रगतिको जश मात्र लिन खोज्छ । र नबुझेको कुरा पनि यही हो किन मान्छे आफैबाट घटाइएको घटनाबाट सृजित नकारात्मक परिणामको जिम्मेवार भाग्यलाई वा नियतलाई वा ईश्वरलाई वा अरुलाई ठान्छ । साँच्चै 
(अ) विवेकशील छ मान्छे कमसेकम आफ्नो मामलामा ।
अब्दुल कलामः एक अपवाद
भारतका एक पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको गतवर्ष निधन भयो । खासगरी विद्यार्थी जगतका लागि संसारकै एक उत्कृष्ट प्रेरणा मानिने अब्दुल कलाम जो भारतमा ‘मिसाइल मेन’ भनेर चिनिन्छन्, उनको एक घटना निकै चर्चित छ यो माथि उठाइएको मामिलामा । भन्न खोजेको, मानिसहरूले सफलताको श्रेय आफूले लिने तथा असफलताको कारण अरुलाई नै देख्ने जो प्रवित्ति आम मानिसमा हावी छ वा देखिन्छ, त्यसको ठ्याक्कै विपरित थिए कलाम । प्रसङ्ग छ, जब अब्दुल कलामको नेतृत्वमा भारतमा मिसाइल निर्माण तथा विकासको क्रम चलिरहेको थियो, त्यतिबेला मिसाइल निर्माणको प्रयास सुरुवातमा असफल भएको थियो । त्यो असफलतालाई लिएर अनेक टिकाटिप्पणी उठाइएको  थियो र भारतीय मिडियाले जसले आवश्यकता भन्दा बढी नै आलोचना गर्न खोज्दछन् , मिडियाले उनको टिममा सहभागी धेरै वैज्ञानिकको कडा आलोचना गरेका थिए । त्यो मिसाइल निर्माण असफल हुनमा पूर्ण रूपमाती वैज्ञानिकहरू दोषी हुन् भन्ने मिडिया तथा अन्य व्यक्तिको निश्कर्ष थियो सायद । तर जब पत्रकारको समक्ष अब्दुल कलाम पुगे र उनले आफ्नो टीममा रहेका वैज्ञानिकहरूको आलोचना भएको थाहा पाए, त्यसको डटेर प्रतिकार गरे । 
स्पष्ट रूपमा भने कि, ‘हामी जे जति रूपमा असफल भएका छौं, त्यो सम्पूर्णको दोषी म छु । म नेतृत्वकर्ता हुँ र यो असफलताको जिम्मेवारी त मैले लिनुपर्दछ । तपाईंहरू किन त्यसै यी मैले जे गर्न लगायो त्यही गर्ने वैज्ञानिकहरूको आलोचना गर्नुहुन्छ ? कति सक्नुहुन्छ मेरो आलोचना गर्नुस् ।’ त्यो सुनेर मिडियाका मान्छे अवाक भए । र इतिहासमा त्यसपछि कहिल्यै पनि अब्दुल कलाम र उनको टीम आलोचित हुन परेन । त्यसपछिको प्रयासमा उनीहरू सफल भए र मिसाइल निर्माण सम्पन्न भो । फेरि भारतीय मिडियाका व्यक्तिहरू आए र तिनीहरूले अब्दुल कलामको जयजयकार गर्न थाले । यसको प्रत्युत्तरमा अब्दुल कलामले भने, ‘तपाईंहरू नै होइन जसले अघिल्लोपटक हाम्रो टीम मिसाइल निर्माणमा असफल हुँदा यी वैज्ञानिकहरूको आलोचना गरेको ? अनि आज चाहिँ सफलताको श्रेय मलाई दिँदैहुनुहुन्छ ? यो जति सफलता प्राप्त भएको छ, यो सबै उहाँहरूको कारण सम्भव भएको हो । यसमा त म मात्रै सहयोगी हुँ र यस कार्यका लागि मैले उहाँहरूलाई उत्प्रेरित मात्र गरेको हुँ ।’
हरेक मान्छे कलाम जस्तो बन्नै सक्दैन । अझ भन्दा त अधिकांश मान्छे कलाम जतिको बन्न सक्दैन र त्यसैले पनि कलाम–कलाम जस्ता बन्न सकेका हुन् । भारतीय समुदायमाझ मात्र नभएर सारा संसार भरी उनको गुणगान गरिन्छ । यसको थप अर्थ के लाग्छ भने, तपाईं अरुभन्दा फरक अझ लगभग भन्दा फरक बन्नुहुन्छ भने समय तपाईंकै पक्षमा हुनेछ, जसरी समय एपिजे अब्दुल कलामको पक्षमा थियो ।
हाम्रा सोचहरूले निम्ताउने आशा, आशाहरूका बलहरूमा हुने कर्म  सधैं हाम्रो लागि सकारात्मक हुन्छन् र जब त्यसको परिणाम हामी भोग्छौं वा महसुस गछौं, त्यसबाट त्यसको स्वामित्व बदलिन्छ । राम्रो र सोचेजस्तै नतिजा आयो भने त्यो कर्मको फल हो, त्यो हाम्रो मेहेनतको उपज हो भन्ने हामी सोच्दछौं र त्यही कर्मले दिने फल आफू प्रतिकूल भयो भने नि त्यो हाम्रो कारण होइन, सारा भगवानको कारण वा हामीले विश्वास गरेको कुनै दैवीक शक्तिको आडमा भइरहेको छ र यसमा हामी कत्ति पनि दोषी छैनौं । फेरि पनि भनें, हो हामी मानिसहरू साँच्चै (अ) विवेकशील छौं । 
गीतामा कृष्णको भनाइलाई सारा हिन्दु धर्मावलम्बीहरू प्रेरणाको स्रोत मान्दछन् । उनका प्रत्येक भनाइहरू जीवन जिउने आधार भएका मान्दछन् केही मानिसहरू  । ‘यो संसारमा जे जति राम्रो छ वा भएको छ वा भएको थियो वा भएको हुनेछ, त्यो सब मेरो कारण नै हुनेछ’ भनेर कृष्णले आत्मालाप  गरेका छन् गीतामा । अनि यो संसारमा जति नराम्रो हुन्छ, त्यसको जस कसले लिने नि ? हामीले नराम्रा प्रतिफल सबै भाग्य वा भगवान्को कारण भएको भन्छौं । भगवान स्वयम् आफू यो संसारमा राम्रो काम गर्नका लागि मात्र अस्तित्वमा रहेको जिकिर गर्छन् । हामीले भगवान्लाई दोष लगाउने, भगवान्ले आफूमा कुनै दोष नरहेको भन्ने, खास त्यहाँ कसले झुट बोलेको छ । यी दुवै सत्य हुनै सक्दैन र यी दुवै झुट पनि हुन जटिल छ । साएद यहाँ पनि मान्छेहरू भगवानको 
(अ) विवेकशीलता देख्दा हुन्, अरुलाई दोष थुपार्ने वानी जो परेको छ र यदि भगवान् छन भने उनले पनि त्यही देखेका होलान्, यो सबै मानिसहरूको (अ) विवेकशीलता हो ।
गीताबाट कृष्ण जोगिन्छन्, महाभारतबाट पाण्डव, रामायणबाट राम । वाइवलमा जिसस क्राइस्ट आफूले गरेको कुनै पनि काम गलत नहुने बताउँछन् । कुरानमा पनि सायद त्यस्तै लेखिएको होला । सबै भगवान् मानिएकाहरूको कुरा एउटै हो, उनीहरू जे गर्छन् राम्रै गर्छन् । हामी सबैको भनाइ पनि एउटै हो, यो संसारमा हामी जति पनि असहज स्थितिको सामना गरिरहेका हुन्छौं वा गर्न परेको हुन्छ, त्यो भाग्यको उपज हो वा यसमा पूर्ण रूपमा भगवानको हात छ ।
अन्तिममा भन्न सकिन्छ, मानिस भगवानभन्दा बाठा छन् र भगवान् मानिसभन्दा बाठा छन् । वास्तवमा दुवै वाठा छन् । र उनीहरूको बाठो बन्ने जुनसुकै तयारीहरू किन नहुन, ती सब दोषबाट उम्कने उपाय मात्रै हो । जे भए पनि यी दुवै दोषी छन् र निर्दाेष पनि छन् यी दुवै । अर्थात् जे भइरहेको छ वा जे हुनलाई जे भइरहेको छ, त्यो त्यही हालतमा त्यो गर्नेलाई जे महसुस गरेको छ, त्यहाँसम्म सही छ । उसले गलत सम्झे गलत छ । सोचमै भरिएको छ सबै, अडिएको छ सबै । मान्छे भएकै हुनाले मैले पनि भन्नै पर्ने हुन्छ र भगवान् पनि निर्दाेष छैनन् ।
प्रकाशित मितिः   १७ फाल्गुन २०७२, सोमबार १२:२०