ब्राउनसुगरसहित पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ फागुन ।
अवैध लागूऔषध ब्राउनसुगर सहित सुर्खेतमा दुईजना पक्राउ परेका छन् । घरमा लागूऔषध ब्राउनसुगर लुकाएर राखेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले वीरेन्द्रनगर–१८ गण्डकी लाइनबाट दिनेशकुमार वली र उनकी श्रीमती निशा वलीलाई पक्राउ गरिएको जनाएको छ ।
 विशेष सुराकीको आधारमा उनीहरूको कोठामा छापा मारेर लागूऔषध ब्राउनसुगर समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट डीएसपी बहादुरजंग मल्लको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेतका प्रहरी प्रवक्ता समेत रहेका डीएसपी मल्लले उनीहरूको साथबाट तीन ग्राम चार सय २० मिलीग्राम ब्राउनसुगर बरामद गरिएको जानकारी दिए । उनीहरूले आफ्नो सुत्ने कोठामा लुकाइ राखेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ छ । 
जिल्ला प्रहरी कार्यालयले उनीहरू दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ । आइतवार जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पछिल्लो समय जिल्लामा लागूऔषधको अवैध ओसार–पसार तथा प्रयोग बढ्दै गएको छ । लागूऔषधको प्रयोग बढेको पाइएपछि आफूहरूले विशेष अभियान सुरु गरेको डीएसपी मल्लको भनाइ छ । उनका अनुसार जिल्लामा लागूऔषध ओसार्ने गिरोह नै भएको आशंकामा प्रहरीले थप अनुसन्धान तीव्र बनाएको छ । तस्करहरूले भारतबाट सुर्खेत हुँदै यस क्षेत्रका अन्य पहाडी जिल्लाहरूमा समेत आगूऔषधको ओसार–पसार गर्ने गरेको प्रहरीको दाबी छ । 
प्रकाशित मितिः   १७ फाल्गुन २०७२, सोमबार १२:२२