दैलेखमा थप दुई बालकको मृत्यु

साझा बिसौनी संवाददाता
दैलेख, १६ फागुन ।
सरकारी अधिकारीहरूले दैलेखमा फैलिएको संक्रमण नियन्त्रणमा आएको दाबी गरिरहँदा थप दुई बालकको ज्यान गएको छ । जिल्लाको लयाँटीविन्द्रासैनी गाविसमा फैलिएको संक्रमणबाट स्थानीय दुई जना बालकको ज्यान गएको हो । यस्तै गाउँका एक दर्जन भन्दा बढी बालबालिकाहरू संक्रमणका कारण गम्भिर बिरामी भएका छन् ।
संक्रमणका कारण शुक्रवार राती स्थानीय टोपबहादुर शाहीका साढे २ वर्षका छोरा विकाश शाही र केशव नेपालीका ६ महिनाका छोराको उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । स्थानीय बासिन्दाका अनुसार अहिले पनि गाउँमा बालबालिकाहरू बिरामी परेका छन् । यस्तै केही बालबालिकाहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ । केहीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।  
केही साता पहिला पनि जिल्लाको तोलीजैसीमा संक्रमणकै कारण दुई बालबालिकाको मृत्यु भएको थियो । त्यसैगरी छिमेकी गाविसहरू लकान्द्रा, विशल्ला, चामुण्डा र सातल्लामा संक्रमण फैलिंदा तीन दर्जन बढी बालबालिकाहरू बिरामी भएका थिए । उनीहरू उपचारपछि संक्रमण नियन्त्रणमा आएको दाबी गरिरहँदा छिमेकी गाविस लयाँटीविन्द्रासैनीमा सोही संक्रमण देखापरेको हो । गाउँमा संक्रमण देखिएपछि आइतवार नै त्यसतर्फ औषधि र स्वास्थ्यकर्मी पठाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर निर्मल रसाइलीले भने, ‘पहिलाको ठाउँमा त नियन्त्रण भएको थियो, तर नयाँ स्थानमा देखापरेको खबर आएको छ । हामीले आइतवार नै त्यसतर्फ औषधि र स्वास्थ्यकर्मी पठाइसकेका छौं, यो पानीमा भएको खराबीका कारण बालबालिकाहरूमा संक्रमण देखापरेको छ ।’ उनले पहिलाको स्थानमा संक्रमण पूर्णरूपमा नियन्त्रणमा आएको र लयाँटीविन्द्रासैनीमा देखापरेको बताए । स्थानीय बासिन्दा रुद्रबहादुर शाहीले गाउँमा बालबालिकाहरू बिरामी हुनेक्रम बढेको बताए । उनका अनुसार बालबालिकाहरूमा सुरुमा पखाला लाग्ने, वान्ता हुने र निमोनियाको जस्तो लक्षणहरू देखापर्ने गरेका छन् । संक्रमणका कारण बिरामी भएका बालबालिकाहरूको स्थानीय मेडिकल, स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्थानीय बासिन्दाले गाउँका दर्जनांै बालबालिकाहरू बिरामी हुँदा समेत प्रभावकारी उपचारको व्यवस्था नभएको गुनासो समेत पाखेका छन् । यता जिल्ला स्वास्थ्य कार्यालय दैलेखले भने उपचार सुरु भइसकेको र थप औषधि समेत प्रभावित क्षेत्रमा पुगिसकेको दाबी गरेको छ ।
प्रकाशित मितिः   १७ फाल्गुन २०७२, सोमबार १२:२३