उच्च मावि ईत्रामको नयाँ कामः खर्च जोगाएर अक्षयकोष स्थापना

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ फागुन ।
जिल्लाका प्रायः विद्यालयहरूले शैक्षिक गुणस्तरको बाधक आर्थिक अभावलाई देखाउने गरेका छन् । आर्थिक समस्याका कारण नै विद्यालयको प्रगति हुन नसकेको गुनासो आइरहेको बेला जिल्लाको एक सरकारी विद्यालयले भने नमुना कामको सुरुवात गरेको छ । वीरेन्द्रनगरमा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि ईत्रामले विद्यालयमा हुने विभिन्न खर्चहरूको कटौती गरेर बचत भएको रकमबाट अक्षयकोषको स्थापना गरेर जिल्लामा नै नमुना कामको सुरुवात गरेको हो ।
उक्त विद्यालयले आइतवार ५१ लाख रूपैयाँको अक्षयकोष स्थापना गरेको हो । विद्यालयमा अध्यनरत कक्षा ११ र १२ का विद्यार्थीहरूले तिरेको शुल्कवापतको रकमबाट अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ । पछिल्लो तीन वर्षको अवधिमा विद्यार्थीबाट प्राप्त भएको आम्दानी रकमलाई खर्च हुनबाट जोगाएर बचत भएको रकमबाट अक्षयकोष स्थापना गरिएको हो । विद्यालयका प्राचार्य गेहेन्द्रप्रसाद दहालले तीन वर्षमा सबै खर्च कटाएर ५१ लाख रूपैयाँ बचत भएको र सोही रकमबाट अक्षयकोष स्थापना गरिएको बताए ।
आइतवार स्थापना भएको अक्षयकोषको रकम नेपाल बैंकमा जम्मा गरिएको छ । सो रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा कार्यरत अस्थायी तथा निजी स्रोतका शिक्षक र कर्मचारीलाई अनिवार्य तथा स्वैच्छिक अवकाश पाएमा सहयोग स्वरूप प्रदान गर्ने योजना विद्यालयको रहेको छ । यस्तै शिक्षक तथा कर्मचारीहरू बिरामी भएमा सहयोग गर्नुका साथै उपदानमा खर्च गरिने बताइएको छ । विद्यालयका अनुसार अक्षयकोषबाट प्राप्त हुने ब्याजलाई निजी स्रोतमा कार्यरत शिक्षक र कर्मचारीको तलबमा समेत खर्च गरिनेछ । यस्तै विद्यालयमा अध्यनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिने बताइएको छ । यस्तै विद्यालयको भौतिक सुधार र मर्मतमा समेत खर्च गर्न मिल्ने गरी विनियम बनाइने विद्यालयको जानकारी दियो । 
अक्षयकोष स्थापना भएपछि विद्यालयका प्राचार्य दहालले भने, ‘कहिलेसम्म आर्थिक अभावमा बस्ने ? सरकारको भर परेर मात्र हुँदैन । त्यसैले हामीले आफै नयाँ काम गर्ने सोच बनायौं, अक्षयकोषले अब विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार आउनेछ ।’ उनले विद्यार्थीको शुल्कबाट अन्य खर्च कटाएर रकम बचत गरेको बताए । सो रकमले अब निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । उनले थपे, ‘शिक्षक र कर्मचारीलाई मात्र होइन, अब विद्यार्थीलाई पनि केही राहत पुग्नेछ । दुर्गमबाट आएका र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई समेत अब हामी अक्षयकोषबाट छात्रवृत्ति प्रदान गर्नेछौं ।’ उनले अबको तीन वर्षमा थप ५१ लाख रूपैयाँ अक्षयकोषमा जम्मा गर्ने योजना रहेको समेत जानकारी दिए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि वाग्लेले अक्षयकोष स्थापना भएसँगै विद्यालयमा शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने बताए । विगतमा आर्थिक अभावकै कारण विद्यालयले विभिन्न समस्याहरू भोगेको भन्दै उनले अब त्यस्ता समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे । 
यस्तै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष श्रीधर पौड्यालले सरकारी विद्यालयले सुरु गरेको यो कामको सिको जिल्लाका अन्य विद्यालयहरूले समेत गर्नुपर्ने बताए । चाहना र इच्छा भएमा हरेक समस्याको समाधान सम्भव भएको भन्दै उनले अक्षयकोषलाई थप व्यवस्थित गर्न सुझाव दिए । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले विद्यालयले जिल्लामै नमुना कामको सुरुवात गरेको भन्दै प्रशंसा गरे । 
साथै उनले सरकारी विद्यालयहरू केवल राज्यको भर पर्दा आर्थिक अभाव भोगिरहेको भन्दै अब आन्तरिक स्रोतको समेत खोजी गर्नुपर्नेमा जोड दिए । यता सुर्खेतका सहायक जिल्ला शिक्षा अधिकारी ध्रुवराज पौडेलले समेत उच्च मावि ईत्रामले अक्षयकोष स्थापना गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा उक्त कामको प्रशंसा गर्दै यसले विद्यालयको शैक्षिक विकासमा समेत टेवा पुग्ने बताएका छन् । साथै उनले यो कार्यको अन्य विद्यालयहरूले पनि सिको गर्न सकेमा विद्यालयहरूको प्रगति हुने समेत विश्वास गरेका छन् । 
प्रकाशित मितिः   १७ फाल्गुन २०७२, सोमबार १२:२५