उमावि ईत्रामबाट सिकौं
सरकारी विद्यालयहरू भन्ने बित्तिकै प्राय सबैले कम गुणस्तर, भौतिक सुविधाको अभाव, नियमित रूपमा कक्षा नहुने, आर्थिक समस्याले जेलिएको र हेलाको दृष्टिले हेरिन्छ । यही धारणाका कारण नै अभिभावकहरूले नजिकै सरकारी विद्यालय भए पनि महङ्गो शुल्क तिरेर आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउँछन् । अर्कोतर्फ सरकारी विद्यालयहरूले जहिले पनि आर्थिक अभाव र समस्यालाई नै अगाडि सारेर बहाना बनाउँछन् । त्यहाँ कार्यरत शिक्षक र कर्मचारीहरूले समेत आर्थिक समस्याका कारण विद्यालयहरूको प्रगति हुन नसकेको गुनासो गर्दछन् । केवल सरकारको भर पर्ने र राज्यले दिएको तलब खाने बाहेक अधिकांश विद्यालयहरूले अन्य वैकल्पिक उपायको खोजी गर्न सकेका छैनन् । अझ अतिपय विद्यालयमा त सरकारले दिएको रकम समेत मिलेर दुरूपयोग गरेको पाइन्छ । जसका कारण सरकारी विद्यालयहरू धरासायी बन्दै गएका छन् । यस्तो अवस्थामा सुर्खेतको एक सरकारी विद्यालयले भने नमुना कामको सुरुवात गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि ईत्रामले विद्यार्थीहरूले तिर्ने शुल्कबाट केही रकम बचत गरेर अक्षयकोष स्थापना गरेको छ । विद्यालयको दीर्घकालीन विकास र शैक्षिक गुणस्तर सुधारका लागि भन्दै सो विद्यालयका शिक्षक र विव्यसका पदाधिकारीहरूले एउटा साहस गरेका छन् । वास्तवमा जिल्लामा रहेका अन्य सरकारी विद्यालयहरूका लागि यो प्रेरणा र चुनौती दुवै हो ।
विद्यालयले प्राप्त गर्ने सरकारी सहयोगलाई शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले आफ्नो स्वार्थ अनुसार खर्च गर्ने र मिलेसम्म बाँडेर खाने प्रचलन अहिले पनि छ । यस्तो संस्कारले चरम सीमा नाघेको अवस्थामा उच्च मावि ईत्रामले जुन साहस गरेको छ । यो राज्यका अन्य सरकारी विद्यालयहरूका लागि समेत सिकाईको पाटो हुन सक्छ । अर्कोतर्फ आर्थिक अभावका कारण कतिपय विद्यालयहरूले अहिले पनि अस्थायी र निजी स्रोतमा कार्यरत शिक्षकहरूलाई तलब खुवाउन सकिरहेका छैनन् । त्यतिमात्र होइन, रकम नभएकै कारण कतिपय विद्यालयले विषय अनुसारका दक्ष शिक्षक तथा कर्मचारीको व्यवस्थापन समेत गर्न सकेका छैनन् । यस्ता विद्यालयहरूका लागि उच्च मावि ईत्रामले नयाँ उपाय सिकाएको छ । यसलाई अब सबैले सिको गर्न जरुरी छ । विद्यालयमा हुने विभिन्न खर्चहरूको कटौती गरेर बचत भएको रकमबाट अक्षयकोषको स्थापना गरेर सो विद्यालयले जिल्लामा नै नमुना कामको सुरुवात गरेको हो । उक्त विद्यालयले ५१ लाख रूपैयाँको अक्षयकोष स्थापना गरेको छ । वास्तवमा चाहेमा सबै काम गर्न सम्भव छ भन्ने गतिलो उदाहरण यो विद्यालयले दिएको छ । यदि यो कामको सिको जिल्लाका अन्य विद्यालयहरूले गर्न सकेको खण्डमा विद्यालयहरूले आर्थिक अभावको समस्याबाट मुक्ति पाउने छन् ।
विद्यालयले तीन वर्षमा सबै खर्च कटाएर ५१ लाख रूपैयाँ बचत भएको र सोही रकमबाट अक्षयकोष स्थापना गरिएको जनाएको छ । सो रकमबाट प्राप्त हुने व्याजले विद्यालयमा कार्यरत अस्थायी तथा नीजि स्रोतका शिक्षक र कर्मचारीलाई अनिवार्य तथा स्वैच्छिक अवकाश पाएमा सहयोग स्वरूप प्रदान गर्ने योजना विद्यालयको छ । यस्तै शिक्षक तथा कर्मचारीहरू बिरामी भएमा सहयोग गर्नुका साथै उपदानमा खर्च गरिने बताइएको छ । विद्यालयका अनुसार अक्षयकोषबाट प्राप्त हुने ब्याजलाई निजी स्रोतमा कार्यरत शिक्षक र कर्मचारीको तलबमा समेत खर्च गरिनेछ । यस्तै विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिनेछ । वास्तवमा अब सरकारको भर परेर मात्र हुँदैन । त्यसैले आफै नयाँ कामको सुरुवात गर्न जरुरी छ । उमावि ईत्रामबाट अन्य विद्यालयहरूले समेत सिक्न आवश्यक छ ।
प्रकाशित मितिः १८ फाल्गुन २०७२, मंगलवार १२:४१
साझा बिसौनी संवाददाता ।