शिक्षकलाई सांकेतिक भाषा तालिम

सुर्खेत: सांकेतिक भाषामा शिक्षण गराउने शिक्षकहरूका लागि विषयगत शिक्षण शिक्षक तालिम सञ्चालन गरिएको छ । परिलक्षित संस्था शाखा कार्यालय वीरेन्द्रनगरको आयोजनामा शिक्षकलाई १० दिने तालिम दिइएको हो । वीरेन्द्रनगरमा साउन ६ गतेदेखि सुरु भएको तालिम आइतवार सम्पन्न भएको छ । तालिममा तीन जिल्लाका सांकेतिक भाषमा अध्यापन गर्ने १५ जना शिक्षक सहभागिता थिए । सुर्खेत, दैलेख र रुकुम–पश्चिमका शिक्षकले तालिम लिएका हुन् । तालिम समापन कार्यक्रममा बोल्दै सहभागी शिक्षकहरूले १० दिनसम्म महŒवपूर्ण अध्यापन सीप सिकेको बताएका छन् । यस तालिमपश्चात् सांकेतिक भाषामा शिक्षण गर्न आफ्नो आत्मबलसमेत बढेको रूकुम–पश्चिमबाट सहभागी शिक्षक प्रेम विकले बताए ।

तालिम समापन कार्यक्रमका वीरेन्द्रनगर नगरपालिका वडा–८ का वडा अध्यक्ष टिकाराम शर्माले परिलक्षित संस्थाले शिक्षकहरूका लागि तालिमको आयोजना गरेर प्रशंसनीय काम गरेको जनाए । सिकेका सीपलाई आ–आफ्नो विद्यालयमा गएर कार्यान्वयन गर्न उनले सुझाए । फरक क्षमता र अपाङ्गता भएका विद्यार्थीहरूका लागि विशेष पाठ्यक्रम र पाठ्य सामग्रीको व्यवस्था गरी शिक्षण सिकाइका गतिविधिलाई प्रभावकारी बनाउन पनि आवश्यक रहेको शर्माले औंल्याए ।

प्रकाशित मितिः   १६ श्रावण २०७९, सोमबार ०५:०३