बढ्यो कोरोना संक्रमण

पीसीआर परीक्षण सुर्खेतमा सीमित, स्वास्थ्य सावधानीमा हेलचक्य्राइँ

सुर्खेत: कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमणदर फेरि बढेको छ । केही महिना स्थिर रहेको संक्रमणदर साउनयता उकालो लागेको हो । कर्णालीमा पनि संक्रमण दर बढ्दो क्रमममा देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । पछिल्लो लहरमा असारमा फाटफूट संक्रमित पुष्टि हुने गरेकोमा साउनदेखि भने संक्रमण बढेको निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले बताए । ‘प्रत्येक दिनजसो संक्रमित भेटिने गरेका छन्,’ उनले भने, ‘गएको दुई सातामा प्रदेशभर ८४ जनामा संक्रमण पुष्टि भएको छ ।’ निर्देशनालयको विवरणले दैनिक सरदर ६ जनामा संक्रमण पुष्टि हुने गरेको देखिएको हो । सबैभन्दा बढी ‘केस’ सुर्खेतमा देखिने गरेको केसीले जनाए । निर्देशनालयको शनिवारसम्मको तथ्याङ्कमा प्रदेशभर ५४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणदर बढे पनि परीक्षणको दायरा भने बढाइएको छैन । पीसीआर परीक्षणका लागि सुर्खेत नै पुग्नुपर्ने बाध्यता छ । वीरेन्द्रनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पीसीआर विधिबाट परीक्षण भइरहेको हो । एन्टिजेन विधिबाट अन्य स्वास्थ्य संस्थाहरूमा पनि परीक्षण गर्ने गरिएको निर्देशनालयले जनाएको छ । यसअघि प्रदेशका चार वटा स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना संक्रमण भए÷नभएको पत्ता लगाउन पीसीआर वा एन्टिजेन विधिबाट परीक्षण गर्नुपर्ने हुन्छ । हाल प्रदेश अस्पताल, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, स्वास्थ्य सेवा कार्यालय दैलेख र रुकुम–पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको छैन । संक्रमणको ग्राफ बढे पनि परीक्षणको दायरा सीमित हुँदा संक्रमणका आशंकितहरू मर्कामा परेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर गर्न सुर्खेत आउनुको विकल्प नरहेको बिरामीहरूको गुनासो छ । परीक्षणको दायरा बढाउन र विगतमा अपनाइएका सतर्कताका उपायलाई निरन्तरता दिनेगरी तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

कर्णालीमा अहिले पुष्टि भइरहेकामध्ये अधिकांश संक्रमित सुर्खेतका हुन् । दुई सातायताको विवरण हेर्दा यहाँ ३३ प्रतिशतमाथि संक्रमणदर देखिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सूचना अधिकारी अमरबहादुर रानाले साउन लागेयता एक सय २२ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण देखिएको बताए । उनका अनुसार संक्रमण बढेसँगै एन्टिजेन परीक्षणको दायरा विस्तार गर्न जनस्वास्थ्य कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । शनिवार सुर्खेतका ११ जनाको परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । चार जनाको पीसीआर र सात जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण फेला परेको हो । प्रदेश अस्पताल, जनस्वास्थ्य सेवा कार्यालय र वीरेन्द्रनगर नगरपालिकामा पनि एन्टिजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको बताइएको छ । आइतवारसम्म सुर्खेतमा ३६ जना सक्रिय संक्रमति रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् । संक्रमणदर बढ्दो क्रममा देखिए पनि सिकिस्त बिरामी भने नभएको सूचना अधिकारी रानाले जनाए । ‘सामान्य लक्षण भएकाहरूमा संक्रमण पुष्टि भएको छ,’ उनले भने, ‘यो लहरमा जटिल समस्या भएका संक्रमित भेटिएका छैनन् ।’ सुर्खेतमा हालसम्म कोरोना संक्रमणका कारण दुई सय २९ जनाको मृत्यु भएको छ । प्रदेशभर अहिलेसम्म कोरोना संक्रमितमध्ये तीन सय ९१ जनाको ज्यान गएको छ । केही महिनायता कर्णालीमा कोरानाका कारण हुने मृत्युदर शून्य छ ।

संक्रमणको जोखिम बढ्दै गए पनि सोहीअनुसारको सतर्कतामा भने सम्बन्धित निकायले ढिलाइ गरेका छन् । संक्रमण तीव्र बनिसक्दा परीक्षणको दायरा बढाउने, सीमा नाकादेखि सार्वजनिक स्थलहरूमा चेकजाँच, भिडभाड नियन्त्रण तथा सावधानीमा बेवास्ता भइरहेको हो । अहिले सर्वसाधारणले समेत जनस्वास्थ्यका मापदण्ड अपनाउन छोडेका छन् । हेलचक्य्राइँ बढेकाले संक्रमण तीव्र हुने जोखिम रहेको जनस्वास्थ्यका जानकारहरू बताउँछन् । देशभर संक्रमणदर नियमित बढिरहेकाले कर्णालीमा पनि जोखिम उच्च देखिएको चिकित्सकहरूले औंल्याएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतवार मुलुकभरका ४७ जिल्लामा संक्रमित पुष्टि भएका छन् । आइतवार देशभर ६ सय २० जना कोरोना संक्रमित थपिएका छन् । पाँच हजार आठ सय ४५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । आइतवार नै एक जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या चार हजार पाँच सय ६७ पुगेको छ । सक्रिय संक्रमितमध्ये चार हजार चार सय २४ जना होम आइसोलेसनमा र एक सय ४३ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । अस्पतालमा रहेकामध्ये ३३ जना आईसीयूमा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मितिः   १६ श्रावण २०७९, सोमबार ०५:०५