नागपञ्चमीमा सार्वजनिक बिदा

सुर्खेत: कर्णाली प्रदेशमा श्रावण शुक्ल पञ्चमीको अवसरमा भोलि ‐मंगलवार) सार्वजनिक बिदा दिइएको छ । साउन १७ गते शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका दिन प्रदेशभर सार्वजनिक बिदा गरिएको हो । कर्णाली प्रदेश सरकारको २०७८ चैत्र २९ गतेको मन्त्रिपरिषद् निर्णयले यो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सार्वजनिक बिदा हुने भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतवार एक सूचना जारी गरी प्रदेशमा रहेका सरकारी तथा सार्वजनिक संघ–संस्थाहरूमा बिदा हुने जनाएको छ ।

कर्णाली सरकारले यो वर्ष राष्ट्रियबाहेक थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । प्रदेशको राजपत्रमा प्रकाशित विवरणअनुसार चैत १२ गते जुम्लामा मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवस र साउन १ गते देउडा पर्वको बिदा दिइएको छ । त्यस्तै, साउन १७ मा नागपञ्चमी, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज २३ गते शुक्ल (कोजाग्रत) पूर्णिमा, चैत १६ गते चैत्र शुक्ल नवमी (रामनवमी) का दिन प्रदेशभर सार्वजनिक बिदाको व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः   १६ श्रावण २०७९, सोमबार ०५:०२