सार्वजनिक यातायातको असहजता

छोटो दूरीको एक मात्र सार्वजनिक सवारी साधनको विकल्प अटोरिक्साको सञ्चालन व्यवस्थापन व्यवस्थित नहुँदा यात्रु मर्कामा

सुर्खेत: वीरेन्द्रनगर उपत्यका भित्रका छोटो दूरीमा आउजाउ गर्ने सार्वजनिक सवारी साधन अटोरिक्सा मात्रै छ । सार्वजनिक सवारीका लागि एक मात्र विकल्प अटोरिक्साको सञ्चालन व्यवस्थापन भने व्यवस्थित हुन सकेको छैन । सार्वजनिक यातायात सहज र सुलभ नहुँदा यात्रुहरू मर्कामा पर्ने गरेका छन् । अटोरिक्सा सञ्चालनमा आएदेखि सुविधा भएपनि भाडा अचाक्ली महँगो तिर्नुपरेको नगरबासीको गुनासो छ ।

वीरेन्द्रनगर नगरपालिकामा दर्ता भएर हाल आठ सय अटोरिक्सा सञ्चालनमा छन् । अटोरिक्सा सञ्चालन व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक निर्देशिका र कार्यविधि पनि बनाएको छ । तर, प्रभावकारी अनुगमन र नियमन नहुँदा यात्रुहरू ठगिने समस्या बढ्दो छ । छोटो दूरीमा पनि अटो चालकले मनपरी चर्को भाडा असुल्ने गरेका हुन् । यात्रुहरूका गुनासो आउन थालेपछि बेला–बेलामा नगरपालिकाले अनुगमन गर्छ । अनुगमनका क्रममा अटोहरूले निर्धारण गरेको भाडाभन्दा बढी लिने गरेको पाइएको नगर उप–प्रमुख निलकण्ठ खनालले बताए । तोकिएको भाडादर भन्दा बढी नलिन अटो व्यवसायीहरूलाई सचेत गराउँदै आएको उनले जनाए ।

२०७५ सालमै अटो सञ्चालन व्यवस्थापन निर्देशिका बनाई नगरपालिकाले सोहीअनुसार अटोरिक्सा सञ्चालन गर्न व्यवसायीलाई भनेको छ । ‘अटो इ–रिक्सा कार्यविधि–२०७५’ मा रहेर नगरपालिकाले अटोरिक्सा सञ्चालन व्यवस्थापन गर्दै आएको हो । वीरेन्द्रनगर नगरपालिकाका विभिन्न रुटमा सञ्चालन हुने अटो रिक्साको भाडादर निर्धारण गरिएको छ । पछिल्लो पटक गएको वैशाख ५ गते भाडादर तोकिएको थियो । अटोरिक्साको व्यवस्थापनका लागि वीरेन्द्रनगरका २३ ठाउँमा पाकिङ्ग स्थल तोकिएको छ । एउटा पार्किङ्ग स्थलमा दश वटा अटो पार्किङ्ग गर्ने व्यवस्था मिलाइएको छ ।

अटोरिक्साको भाडादरबारे नगरपालिका, जिल्ला प्रशासन, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय सबैले संयुक्त रूपमा अनुगमन गर्ने गरेपनि यात्रुहरूको गुनासो कम भएको छैन । अटोमा निर्धारित भाडादर नटासेका कारण पनि यात्रुहरू ठगिने गरेको पाइएको छ । गएको वैशाखमा निर्धारण गरिएको भाडादर अनुसार पक्की सडकमा न्यूनतम् २० रूपैयाँ र त्यसपछि प्रति किलोमिटर आठ रूपैयाँका दरले भाडादर तोकिएको छ । त्यस्तै, कच्ची सडकमा न्यूनतम् २० र प्रति किलोमिटर थप १२ रूपैयाँ भाडादर तोकिएको छ । रिजर्भ जाँदा भने न्यूनतम् २० र त्यसपछि प्रतिकिलोमिटर ३० रूपैयाँ लिन पाइने व्यवस्था गरिएको छ । तर, यो भाडादर भने कडाइका साथ कार्यान्वयनमा आउन नसकेको बताइएको छ । उपत्यकाभित्रका जुनसुकै रुटमा एक सयभन्दा बढी भाडा नतोकिएपनि अटो चालकले दुई सयदेखि तीन सयसम्म भाडा लिने गरेको यात्रुहरूले बताउने गरेका छन् ।

सञ्चालन व्यवस्थापनका लागि दश सदस्यीय अटो इ–रिक्सा समिति गठन गरिएको छ । त्यस्तै, अल्फा यातायात, सिद्धपाइला यातायात र समाजसेवा यातायात प्रालि दर्ता भएका छन् । अटोरिक्साको पञ्जीकरण यातायात व्यवस्था कार्यालयले गर्ने गरेको छ । नगरपालिकामा सञ्चालन भइरहेका अधिकांश अटो चालकसँग सवारी चालक अनुमति पत्र छैन । जसले गर्दा दुर्घटनाको जोखिमसमेत धेरै रहेको प्रहरीले जनाएको छ । अटोरिक्सा अव्यवस्थित रूपमा सञ्चालन भइरहेको गुनासो आउन थालेपछि सरोकारवाला निकायले अनुगमन तथा निगरानी बढाइएको दाबी गरेका छन् । जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले निर्धारित भाडादर कार्यान्वयनको भए–नभएको अनुगमन गर्ने गरिएको बताएका हुन् । यात्रुहरूको गुनासो बढेपछि अटोरिक्सालाई कडा निगरानीमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुुर्खेतका प्रमुुख नेत्रबहादुुर कुँवर बताउँछन् । ‘अटोले रुटअनुसार तोकिएको भाडादरमा सेवा प्रवाह गर्नुप¥यो,’ उनले भने, ‘बढी भाडा लिने र जथाभाबी पार्किङ्गलगायतका ट्राफिक नियमको उल्लंघन गरेमा कारबाही हुन्छ ।’ अटोरिक्सालाई व्यवस्थित गर्ने कार्य भइरहेको नगरपालिकाका सहकारी, उद्योग तथा सामाजिक विकास शाखा प्रमुख टंक लामिछानेले बताए । उनका अनुसार नगरपालिकाले विभिन्न समयमा अटोरिक्सा चालकलाई सेवा प्रवाहसम्बन्धी तालिम र चेतनामूलक कार्यक्रम गर्दै आएको छ । भाडादरमा भने एकरूपता हुुन नसकेको उनले जनाए ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सार्वजनिक सवारी साधनको भरपर्दो सेवा छैन । नगरपालिकाले पाँच वर्ष अघिदेखि नगर बस सञ्चालनको तयारी गरेपनि त्यसले सार्थकता पाउन सकेको छैन । पछिल्लो समय नगर बस कार्यविधि नै बनाएर सञ्चालन गर्ने गरी छलफल भइरहेको नगर–उपप्रमुख खनालले बताए । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत नगरबस सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ । सुरुमा दुई वटा नगरबस सञ्चालन गर्ने गरी तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   १२ श्रावण २०७९, बिहीबार ०५:०५