एमालेले औंल्यायो कर्णालीमा पराजयका कारण
सुर्खेत: नेकपा ‐एमाले) कर्णाली प्रदेश कमिटीले गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हासिल गरेका उपलब्धी र व्यहोर्नुपरेको पराजयबारे समीक्षा गरेको छ । प्रदेश कमिटीले स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा नआउनुमा थुप्रै कारण रहेको आंैल्याएको छ । बुधवार प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वीरेन्द्रनगरमा साउन ७ र ८ गते बसेको चौथो पूर्णबैठक र १० गतेको सचिवालय बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । जसअनुसार पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धामा होमिनु, निर्वाचनमा एमालेकाविरुद्धमा सरकारी साधन–स्रोत र संयन्त्रको दुरूपयोग हुनु, पार्टीबाट केही समूह चोहिटिएर जानु, स्थानीय तहका जनप्रतिनिधिप्रति जनमानसमा सकारात्मक प्रभाव नपर्नु तथा उम्मेदवारी चयनदेखि आकांक्षीहरूको व्यवस्थापन उचित ढंगले गर्न नसक्दा परिणाम सोचेअनुरूप नभएको प्रदेश कमिटीको ठहर छ । पत्रकार सम्मेलनमा निर्णय सार्वजनिक गर्दै एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले स्थानीय तह निर्वाचनमा देखिएका समस्याप्रति ध्यानाकर्षण गर्दै पार्टीलाई थप सुदृढ गर्ने निर्णय भएको जनाए । निर्वाचनका सन्दर्भमा जिल्ला कमिटीहरूबाट आएका प्रतिवेदनको समीक्षा गरी पार्टी निर्देशनविरुद्ध गतिविधिमा संलग्न भएकालाई कारबाही र सचेत गर्ने÷गराउने निर्णयसमेत भएको अध्यक्ष शाहले बताए ।
प्रदेश कमिटीले गएको स्थानीय तह निर्वाचनमा कर्णालीका २९ पालिका जित्ने दाबी गरेपनि १५ वटामा विजय हासिल गरेको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा कर्णालीमा पहिलो स्थानमा रहेको एमाले यसपटक निकै कमजोर बनेर तेस्रो खुम्चिएको छ । २०७४ को स्थानीय चुनावमा एमालेले ७९ पालिकामध्ये २६ मा जितेर पहिलो बनेको थियो । सत्ता गठबन्धनसँग एक्लै चुनावी प्रतिस्पर्धामा भिड्नु तथा पार्टीको आन्तरिक कारणले पनि परिणाम अनुकूल बन्न नसकेको नेताहरूले बताएका छन् ।
यसैबीच, एमाले कर्णाली प्रदेश कमिटीले पदाधिकारीसहित ३५ सदस्यीय सचिवालय गठन गरेको छ । प्रदेश कमिटीले भूगोल र विभागको जिम्मेवारीसमेत बाँडफाँड गरेको छ । भूगोल अन्तर्गत प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रअनुसार इञ्चार्ज र सहइञ्चार्ज तथा विभिन्न जनसंगठनका प्रदेश इञ्चार्जहरूको जिम्मेवार तोकिएको हो । प्रदेश कमिटी सदस्यमध्येबाट २० वटा जनसंगठनमा इञ्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी, पार्टीको प्रदेश स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष शाह र उप प्रमुखको जिम्मेवारी ताराकेशर गौतमले पाएका छन् । संगठन विभाग प्रमुखमा लालबहादुर महतारा, निर्वाचन विभाग प्रमुखमा कर्णबहादुर शाही र प्रचार विभाग प्रमुखको जिम्मेवारी सूर्यमणि गौतमलाई दिइएको छ । यस्तै, वित्त तथा कोष व्यवस्थापन विभागमा टेकराज पछाई, स्थानीय विकास विभागमा लालबहादुर रावत र सहरी तथा गरिबी निवारण विभागको प्रमुखमा हरिहरनाथ योगी रहेका छन् । प्रदेश कमिटीले आउँदो भदौ ९ र १० गते वीरेन्द्रनगरमा प्रदेशस्तरीय संगठनात्मक कार्यशाला आयोजना गरिने जनाएको छ ।
प्रकाशित मितिः १२ श्रावण २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।