खाद्य वस्तुमा बदमासी
सुर्खेत: बजारमा खाद्य सामग्रीमा मिसावट गर्ने र अखाद्य वस्तुको बिक्री गर्नेजस्ता बदमासी बढ्दै गएको पाइएको छ । कर्णालीका अधिकांश बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्री हुने गरेको अनुगमनका क्रममा भेटिने गरेको हो । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । विभिन्न निकायले अनुगमन गरी कैफियत भेटिएमा आवश्यक कानुनी कारबाही अघि बढाएपनि बजारको बेथिति कम हुन सकेको छैन । खाद्य वस्तुको गुणस्तर जाँच तथा अनुगमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषराज थापा बजारमा बदमासी हुनेक्रम नरोकिएको बताउँछन् । उनका अनुसार पछिल्लो एक वर्षमा कार्यालयले प्रदेशभरका विभिन्न जिल्लामा एक सय ३१ पटक अनुगमन गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र अन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, रुकुम–पश्चिम, डोल्पा र हुम्ला पर्छन् । गएको आर्थिक वर्षमा ती जिल्लाका बजारहरूबाट नौ लाख १० हजार चार सय ६३ रूपैयाँ बराबरका म्याद गुज्रेका सामान नष्ट गरिएको छ । एक वर्षको अवधिमा सात वटा खाद्य उद्योगलाई कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको कार्यालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार कारबाहीका लागि सिफारिस गरिएको यो तथ्याङ्क अघिल्लो वर्षको भन्दा बढी हो । बजारमा म्याद गुज्रेका, मिसावट गरेका र सडेगलेका सामानसमेत बिक्री गर्ने गरेको पाइएको छ । त्यस्ता अखाद्य वस्तु नष्ट गर्ने र व्यवसायीहरूलाई सचेत गराउने काम समेत गरिँदै आएको जाइएको छ ।
खाद्यान्न, दलहन र सोबाट बनेका, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफि, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दानालगायतका वस्तुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्छ । ‘यस्ता खालका सबैजसो खाद्य वस्तुमा व्यवसायीले बदमासी गरेर बिक्री वितरण गर्ने गरेको भेटिँदै आएको छ,’ थापाले भने । पछिल्ला वर्षहरूमा बजारमा केही सुधारका संकेत देखिएपनि व्यवसायीको प्रवृत्तिमा सुधार आउन नसकेको उनी बताउँछन् । कार्यालयले गएको आर्थिक वर्षमा होटल तथा रेष्टुरेन्टहरूको ५३ पटक अनुगमन गरेको छ । त्यस्तै, खाद्य उद्योग ८० पटक र दाना उद्योगहरूमा ६ पटक अनुगमन गरिएको छ । होटलहरूमा लोगो स्तरीकरण र नवीकरणका काम एक पटक गरिएको कार्यालय प्रमुख थापाले जनाए । यसैगरी सडक छेउछाउमा खुल्ला रूपमा बिक्री हुने खाद्य पदार्थको स्वच्छता अभिवृद्धि तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । गत आर्थिक वर्षमा दुध, तेल तथा पानी उद्योगहरूमा २४ पटक अनुगमन गरिएको कार्यालयले जनाएको छ । ४६ वटा खाद्य वस्तुको नमुना संकलन र पाँच वटा दाना उद्योगबाट नमुना संकलन गरिएको छ । खाद्य बजार अनुगमन लक्ष्यभन्दा बढी गरिएको बताइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गएको आर्थिक वर्षमा लक्ष्यअनुसारको प्रगति हासिल गरेको जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ को चौंथो त्रैमासिक तथा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै कार्यालय प्रमुख भेषबहादुर थापाले तीन करोड ६३ लाख बजेटमध्ये दुई करोड ४६ लाख खर्च भएको बताए । उनका अनुसार गत आर्थिक वर्षमा कार्यालयको वित्तीय ६८ र भारित प्रगति ७१ प्रतिशत रहेको छ । तलबमा बजेट खर्च कम भएकाले वित्तीय प्रगति थोरै देखिएको बताइएको छ । यस्तै, कार्यालयको भवन निर्माण कार्यको भुक्तानी हुन नसकेकोले पुँजीगत खर्च पनि पुँजीगत खर्च कम भएको कार्यालय प्रमुख थाले जनाए ।
आर्थिक वर्ष २०७८/०७९ को चौंथो त्रैमासिक तथा वार्षिक लक्ष्य प्रगति शतप्रतिशत हासिल गरिएको दाबी कार्यालयको छ । कार्यालय भवन निर्माणको काम बहुवर्षीय भएकाले लक्ष्यअनुसार अघि बढेको र प्रयोगशालाका लागि आवश्यक उपकरण खरिद गरिएको जनाइएको छ । कार्यालयले खाद्य वस्तुको गुणस्तर जाँच गर्न प्रयोगशाला स्थापना गर्न लागेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पर्याप्त जनशक्ति र स्रोत–साधन नहुँदा बजार अनुगमनमा समस्या हुने गरेको बताएको छ । २१ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १० वटा पदपूर्ति भएको छ । सवारी साधन नहँुदा कार्य सञ्चालन तथा गतिविधिमा कठिनाइ भइरहेको प्रमुख थापाले बताए । उनका अनुसार अनुगमन निर्देशिका नबन्दासमेत काम गर्न असहज भएको छ । निर्देशिका नहुँदा लेवलिङमा एकरूपता, कार्यक्षेत्र निर्धारण तथा प्रयोगशाला सञ्चालनमा चुनौती हुने गरेको छ ।
प्रकाशित मितिः १० श्रावण २०७९, मंगलवार ०५:०५
रजनी याेगी ।