आशा

आशा यो एउटा शब्द मात्र होइन । जीवनको सबैभन्दा गहिरो दर्शनलाई प्रतिबिम्वित गर्ने ऐना हो । जीवनलाई जोगाइरहने उत्प्रेरणा हो । टुट्नै लागेको साथ र छुट्नै लागेको श्वासलाई झन मजबुत बनाउने माध्यम हो । कति मान्छे आए । कति मान्छे गए । फेरि पनि हामीलाई लागिरहन्छ, हिजोभन्दा आज अझै राम्रो हुनेछ । हिजोभन्दा आज अझै राम्रा मान्छे आउनेछन् । यही एउटा शब्दको भरमा मान्छे सुख, शान्ति र समृद्धिको कल्पना गर्छ । सपना देख्छ । योजना बनाउँछ । आफूलाई व्यस्त राख्छ । हुन त फगत एउटा शब्द हो ‘आशा’ ।

‘आशा’ यो शब्द बहुआयामिक किन छ भने जुनसुकै विषयमा पनि यो शब्द छुट्दैन । चाहे त्यो साहित्यको विषयमा होस् । संगीतको विषयमा होस् । सिर्जनाको विषयमा होस् । जुनसुकै विषयको पनि हामी भविष्यतर्फ अग्रसर भइरहेका हुन्छौं । आशाको सवारीमा भविष्यतर्फ उडान भरिरहेका हुन्छौं ।

तिनी सुन्दर दिनहरू कल्पेर, अद्धितीय रचनाको बारेमा सोचेर र आफ्नो वर्षाैंदेखिको तपस्याको नतिजालाई हेर्नको लागि लालयित को हुँदैन होला र ? जसको प्रतिक्षामा हामी जुगजुग बिताइदिन सक्छौँ । यही एउटा शब्दको धारमा जिन्दगीको डोरी अडिएको छ । कुन मिनेट, कुन क्षण, कुन पल रेटिन्छ, यस विषयमा अन्जान छौँ । तै पनि आफ्नो कोसिसमा कुनै कमी आउन दिदैनौं । आफ्नो कर्मलाई धर्म सम्झेर खटीरहन्छौं, डटिरहन्छौं । निरन्तर लागि रहन्छौं ।

कतिपय मानिसहरू आफ्नो पारिवारिक अवस्था राम्रो नभएको भनेर गुनासो गर्छन् । खराब वातावरणमा हुर्केको भनेर आफूलाई र आफू हुर्केको वातावरणलाई दोषारोपण गर्छन् । गुणस्तरीय शिक्षा नपाएको भनेर आत्मविश्वास कमजोर बनाउँछन् । जुन व्यक्तिहरू विगतको घटना र परिस्थितीमा बाँधिएर बस्छन् । विगतका घटना र परिस्थितीहरूबाट बाहिर छलाङ मार्न सक्दैनन् । अन्ततः उनीहरूको हातमा निराशा बाहेक केही पर्दैन ।

समय छँदै यस्ता संकुचित सोचबाट बाहिर निस्कने आँट गर्नुपर्छ । जिन्दगी उनान्सय प्रतिशत कर्म र एक प्रतिशत भाग्यको समजोड हो । त्यसैले कर्म गर्नका लागि तयार हुने कि एक प्रतिशत भाग्यमा आफ्नो अनावश्यक ध्यान दिने ? यो बिल्कुल आफ्नो छनौटको क्षेत्राधिकारभित्र पर्छ ।

हामी एकैदिनमा ठूलो काम गर्नतर्फ दिन ध्यान दिन्छौं । जुन असम्भवप्रायः हो । ठूलो काम अर्थात् ठूलो सफलताले समय माग्छ । धैर्यता माग्छ । कडा मेहनत माग्छ । र, अन्त्यमा वर्षौंपछि त्यसको नतिजा देखिन सुरु हुन्छ ।

यदि तपार्इंले एकैदिनमा घर बनाउन खोज्नुभयो भने एकदिनमा बनेको घर कस्तो होला ? कल्पना गर्नुस् । र, ६ महिनामा बनेको घर कस्तो होला ? उदाहरणका लागि ताज महल २० हजार मजदुरले २२ वर्षमा बनाएका थिए । ताज महलको बयान सायदै शब्दमा गर्न सकिएला । जति धेरै समय जे बन्नमा लाग्छ । त्यति मजबुत र अद्भूत बन्ने सम्भावना हुन्छ ।

रान्डा बर्नद्धारा लिखित ‘द सेक्रेट’ पुस्तकमा प्रेन्टिस मलफोर्ड भन्छन् ‘जो व्यक्ति आफ्नो मस्तिष्कलाई जीवनको अँध्यारोमा केन्द्रित गर्दछ, ऊ विगतका दुर्भाग्य र निराशालाई बारम्बार भोगिरहन्छ । यति मात्र होइन, ऊ एक प्रकारले भविष्यमा यस्तै दुर्भाग्य र निराशाको लागि प्रार्थना गर्दछ । यदि तपाईं भविष्यमा दुर्भाग्यबाहेक केही देख्नुहुन्न भने तपाईं दुर्भाग्यको लागि प्रार्थना गर्दै हुनुहुन्छ र निश्चित रूपमा तपाईंले त्यही पाउनुहुन्छ ।’

कतिपय मान्छेहरू विगतको घटनालाई कोट्याईरहन्छन् । मन, मगजलाई दुखाइ रहन्छन् । उनीहरू भविष्यमा सुख पाउने, शान्त हुने र समृद्धि हासिल गर्ने बारे सोच्दैनन् । त्यहीँ समयमा सफलता र खुसी भगवानले आफ्नो भाग्यमा नहालेको भनेर सराप्दै गुनासो गर्छन् । जसको परिणाम उनीहरूको जीवनबाट सुख, शान्ति र समृद्धि टाढा भाग्दै जान्छन् ।

कर्म जसले पनि गर्न सक्छ । सत्कर्म गर्न शुद्ध चित्तको आवश्यकता पर्दछ । पवित्र हृदयको उपस्थिती चाहिन्छ । चित्त शुद्ध भएन भने कतै न कतै जीवनलाई लिएर निराश हुने सम्भावना हुन्छ ।

विभिन्न मानसिक रोगीहरूलाई उपचार गर्ने डाक्टहरूले भन्छन् । आत्महत्या गर्नेहरूको साझा समस्या जीवन देखि निराश भएको भन्ने हुनेरहेछ । यसको मतलब हो । जुन दिन आशा मर्छ । त्यो दिन जिन्दगीको पनि आयु छोट्टिदै जान्छ । ‘सपना ठूलो देख, हार कहिल्यै नमान’ भनेको कहिँ कतै तपाईंले सुन्नु भएको होला । यो लाइन भनेको तपाईंमा आशाका किरणहरू सञ्चार गर्ने माध्यम रहेछन् ।

कुनै दिन तपार्इंले यो संसारमा म यो काम गर्नको लागि जन्मेको हुँ भन्ने थाहा पाउनु भयो भने तपाईं फेरि यिनै लाईन माथि हास्नुहुनेछ किनभने तपाईंले आफ्नो उद्देश्य भेट्टाइ सक्नु भएको छ । अब तपाईंलाई बाहिरी कुराले फरक पार्न र प्रेरित गर्न कम गर्छ । तपाईंलाई फरक पार्ने र प्रेरित गर्नको लागि तपाईंसँग उद्देश्य छ । तपाईं अब स्पष्ट हुनुहुन्छ ।

दोस्रो विश्व युद्धको समयको घटना हो । त्यतिबेला मान्छेहरूलाई कन्सन्ट्रेसन क्याम्पमा राख्ने गरिन्थ्यो । त्यही समयमा एक जना साइकियाट्रिस्ट भिक्टर फ्राङकल पनि उक्त क्याम्पमा अनुबन्धित हुन्छन् । हरेक दिन कुनै न कुनै कारणले मान्छेहरूको मृत्यु भइरहेको थियो । तर, भिक्टरको मृत्यु नभइ उनी उक्त क्याम्पबाट आशाका कारण छुट्न सफल भए ।

उनले उक्त क्याम्पबाट छुटिसकेपछि आशाको सम्बन्धमा एउटा अद्धभूत पुस्तक लेखेँ र जसको नाम ‘म्यान सर्च फर मिनिङ्ग’ भयो । यस पुस्तकमा उनले कन्सन्ट्रेसन क्याम्पमा बस्दाको दर्दनाक अनुभवलाई यस पुस्तकभित्र समेटेका छन् । जुन पुस्तक विश्व चर्चित भयो । मानिसहरू यो पुस्तकलाई प्रेरणाको रूपमा लिन्छन् ।

यो पुस्तक पढ्दा लाग्छ, मान्छेको जीवनमा समस्याहरू आएर मृत्यु हुँदैन । चुनौतीहरूको सामना गरेर मर्दैन । धोका पाएर अलपत्र पर्दैन । यिनीहरूले त मान्छेलाई झन बलियो बनाउँछन् । मान्छेलाई निराशाले मार्छ । आशाले जीवित राख्छ ।

-आदर्शविक्रम सिंह

प्रकाशित मितिः   ४ श्रावण २०७९, बुधबार ०५:०३