विद्युतगृह भत्किँदा तीन जनाको मृत्यु

जुम्ला: जुम्लाको हिमा गाउँपालिका–१ स्थित भित्रीखोला जलविद्युत आयोजनाको विद्युतगृह भत्किँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । विद्युत गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । एक्कासी बिजुली बन्द भएपछि विद्युतगृहमा विद्युतको अवस्था बुझ्न गएका उनीहरूको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीचौकी बड्कीका अनुसार बिहीवार राति साढे २ बजेतिर विद्युत गृह भत्किएको थियो । मृत्यु हुनेहरूमा ३० वर्षीया विमला रावत र उनका छोराहरू नौ वर्षीय भरत रावत र आठ वर्षीय सूर्य रावत रहेका छन् । एक्कासी बिजुली बन्द भएको र राति बत्ती किन गयो भनेर हेर्न जाँदा घर भाँसिएको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना आयोजनाको पावर हाउसभित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्कीका रामप्रसाद चौलागाईंको कमान्डमा प्रहरीको टोली राति नै घटनास्थलमा पुगेको थियो ।

प्रकाशित मितिः   ३२ असार २०७९, शनिबार ०५:०२