विधेयक पारित गराउन प्रदर्शन
सुर्खेत: कर्णाली प्रदेशसभामा दर्ता भएका शिक्षासम्बन्धी विभिन्न विधेयक पारित गराउन दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीको अगुवाइमा विधेयक सरोकार समाजले शुक्रवार प्रदेशसभा अगाडि दबाबमूलक प्रदर्शन गरेको हो । सत्तारुढ दल नेकपा ‐माओवादी केन्द्र) बाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले संसद्मा टेबल गरिएका विधेयक सरकारले तुहान खोजेको आरोप लगाएका छन् । ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक र नव प्रवर्तन, अन्वेषण तथा आविष्कार विधेयक’ पारित गर्न माग गर्दै प्रदर्शन गरिएको हो । सरकार विधेयक पारित गर्न अनिच्छुक देखिएको भण्डारीले बताएका छन् । जसले गर्दा सदनदेखि सडकसम्म संषर्घ गर्नुपरेको उनी बताउँछन् । पर्वतीय विश्वविद्यालय खोस्न खोजेको, सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन खोजिएको र कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकलाई बन्धक बनाउन खोजिएको उनको आरोप छ । विधेयकहरू संसद्भित्रै तुहिने अवस्था आएपछि जनदबाबका कार्यक्रम गर्नुको विकल्प नरहेको भण्डारीको भनाइ छ ।
कर्णाली प्रदेशको मुहार फेर्न सक्ने यी तीन वटा महŒवपूर्ण विधेयकहरू सरकारले रोक्न खोजेको आरोप लगाइएको छ । विधेयक पास गराउने अभियानको समर्थन गर्दै विभिन्न व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । प्रदेशसभा सदस्य भण्डारीले कणालीको संसद्मा पहिलो पटक गैरसरकारी विधेयक दर्ता गराएका थिए । सिंजा सभ्यता संरक्षण विधेयक र नव–प्रवर्तन अन्वेषण तथा आविष्कार विधेयक भण्डारीले गैरसरकारी विधेयकका रूपमा गत वर्ष दर्ता गराएका हुन् । पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पनि उनकै अगुवाइमा सरकारले संसद्मा दर्ता गराएको थियो । भण्डारीसहित समर्थकहरूको दबाबमूलक प्रदर्शन भएपछि प्रदेशसभा भवन अगाडि केहीबेर तनावको स्थिति देखिएको थियो । सम्भावित घटना रोक्न संसद् भवन अगाडि कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । प्रदर्शनकारीहरूले सरकारको चर्को विरोध गर्दै नाराबाजी गरेका थिए ।
प्रकाशित मितिः ३२ असार २०७९, शनिबार ०५:०१
साझा बिसौनी ।