धुवाँको सम्झना

अन्तिम चेकजाँच पछि हातमा बोर्डिङ पास समाएर छाप लगाइ माग्न प्रहरी सामु उभिएको थिएँ ।

‘नमस्कार सर ! मैले हजुरको नाटक हेरेको थिएँ– छेपाराका रंगहरू’ छाप लगाउँदै ती प्रहरीले भने ।

‘नमस्कार । ए होर ! कस्तो मान्नुभो कमलजी नाटक ?’ उनको छातीमा नाम र कुममा दर्जा चिन्ह हेरिसकेको थिएँ, उनी असइ साहब रहेछन् ।

‘गजब थियोे सर । राजनीतिलाई भरमार घोचपेच । बिर्सनै नमिल्ने नाटक ।’

‘घर कहाँ हो नि कमलको…?’

‘उतै हो नि सर । म टेकबहादुर मल्लको भाइ… ।’

‘ए ! आफ्नै मान्छे पो रहेछौ त । हामी फूटबल खेल्ने बेला त भाइ सान्सानै थियौ । ल फेरि भेटौंला नि है भाइ !’

‘हुन्छ सर ।’

लामो कुरा गर्ने अवस्था थिएन, मेरो पछाडी अरु पेसेन्जर पनि पालो कुरिरहेका थिए । टेकबहादुर मल्ल दौंतरी उमेरका व्यक्ति हुन् तर मेरो स्कुल र कलेजका साथी होइनन् । फुटबल खेलमा विपक्ष टिमको क्याप्टेन उनै हुन्थे । एउटा त्यही चिनजानले हामीलाई मित्रवत बनाएको थियो । कुनै सम्बन्ध छोटा हुन्छन् तर पनि यादगार रहन्छन् ।

भित्र प्रतिक्षालयमा पस्दा पो थाहा भयो नेपालगन्जको उडान एक घण्टा डिले भएछ । यस्तै हुन्छ सधैँ दिक्क लाग्छ, काठमाण्डुको उडान प्रायः निर्धारित समयमा हुँदै नहुने ।

‘यस्तो केयरलेस गर्न पाइन्छ ? हाम्रो टाइमको कुनै भ्यालु हुँदैन ? पब्लिकले रिजेक्ट गरिदिनुपर्छ यस्ता एयरलाइन्स लाई केही काम छैन ।’

नेपालगञ्जका एउटा पेसेन्जर उग्र भई त्यसरी उच्च स्वरमा बम्किनुको कारण के रहेछ त भनी बुझ्दा पो थाहा लाग्यो, सिमरा जाने पेसेन्जर उडाएर जहाज पोखरा ल्याण्ड गरेछ ।

पेसेन्जरले होहल्ला गरेपछि त्यतैबाट फेरि सिमरा उडेछ । त्यसकारण डिले भएको रहेछ । सिमरा र पोखरा छुट्याउन नसक्नु कस्तो विडम्बना ! अब यो एक घण्टाको समय कसरी बिताउनु ! न निदाउनु न मुरली बजाउनु । प्रतिक्षाको घडी झन लामो भैदिने ।

‘बहिनी एउटा चिया खाउँन’ क्यान्टिनमा गएर चिया मागें ।

‘चिनी ?’

‘चिनी खान हुनि ।’

‘पहिला पे गर्नुपर्छ सर’ साहुनीले त्यसो भनेपछि एकसय रूपैयाँको नोट झिकेर दिएँ । उनले राता दुई वटा बीसका नोट फिर्ता दिइन् । दोब्बर होइन तेब्बर महँगो । विमानस्थलभित्रको क्यान्टिन आपूर्तिमन्त्री र कोही अग्रवालको मिलोमतोमा पुरानै व्यक्तिलाई ठेक्का । चर्को मूल्य तिर्नुपर्दा यात्रु मर्कामा भनेर मूलधारका पत्रिकाले लेखिरहेका थिए । तर कारबाही गर्ने निकाय सेलाएपछि कसको के लाग्छ ! यता सामुन्नेमा डस्बिन देखेको थिएँ । साठी रूपैयाँको अन्तिम घुट्को चिया निलेर हार्डपेपरको डिस्पोजेबल कप यथावत टेबलमै छोडी दिएँ । उठाएर डस्बिनमा हाल्ने कष्ट गरिएन, कसैले सभ्य भन की असभ्य भन बाल मतलब ! त्यत्रो पैसा तिरिएको छ नि । पैसा पनि कतिसम्म पु¥याउनु जे जहाँ जस्तो गरे पनि पैसा नै पैसा । कस्तो जमाना आयो बरै पैसा बिना बाँच्नै नपाइने । तर सास फेरेको पैसा चाहिँ अझैसम्म कतै तिर्नु परेको छैन, त्यही काफी छ चित्त बुझाउन ।

बानी जाति भन्नू कि नजाती भन्नू चिया खाएपछि चुरोट तान्न मन लाग्छ । तलतल मेट्न चुरोट खान पाइने ठाँउ अथवा स्मोकिङ जोनमा जानैपर्ने भयो । राज्यले सचेतना फैलाएपछि खुला धूम्रपान सम्बन्धमा अनुशासित बनेको छ हाम्रो समाज । भित्र दुई–तीनजना मान्छेले चुरोट तानिरहेका थिए । उतापट्टी उभिएर एउटी युवतीले चुरोटको धूवाँ फुकिरहेको देख्दा आश्चर्य चकित भएँ । किन कि हाम्रोतिरका महिला दिदी–बहिनीले चुरोट खादैनन्, पुरानो पुस्ता बज्यैहरूले खानु छुट्टै कुरा भयो । यता बिदेशी हावा चलेको पनि हुनसक्छ, संगतको छाप पनि रहनसक्छ । समयको प्रवाहलाई कसले रोक्ने कसले छेक्ने ! मैले आफ्नो आश्चर्यता प्रकट हुन दिइनँ । बरु ओंठमा चुरोट च्यापेर पाकेटमा लाइटर छामे, फेला परेन । अवस्था बुझेर अपरिचित युवतीले आफ्नो लाइटर मतिर बढाइन्, काम सकेर लाइटर मैले फिर्ता दिएँ । उनी चुपचाप मुस्काइन् म पनि मुस्काएँ मात्र ।

के नाम हो, घर कहाँ हो, के काम गरिन्छ, जीवन कसरी चलेको छ… । बगाले च्याउ झैं उम्रेका थिए मनमा प्रश्न तर मुखबाट एक शब्द झर्न सकेन ।

चुरोटको कस लिँदै सिसाबाट बाहिर उड्न तयार साना ठूला जहाजलाई हेरिरहेकि थिइन् । ह्वाइटग्रे स्पोट्र्स शुज, ब्लु जिन्स, रेड टिसर्ट, निधारमाथि टाउकोमा अड्याएको एक सनग्लास । तरुणवयको पहिचान दिने अवयवहरू, रूपरङ्ग र लोभलाग्दो जीवनशैलीले मलाई मन्त्रमुग्ध बनायो । साँच्चै पोसाक र पहिरनले मान्छेको व्यक्तित्व उचालिदिन्छ । रङ्ग संयोजनले साह्रै चित्ताकर्षक बनाउँछ । तब त बिछट्टै राम्रो देखिन्छ हिमालको डाँफे ।

उनले र मैले फुकेको धुवाँको फोहरा आपसमा अंगालो हालि माथि माथी उड्दै बिलाउँथे । उनले जस्तै मैले पनि धूवाँको आकार हेरिरहेको थिएँ । मुख मुखबाट निस्केर फेरि नयाँ धूवाँ आउँथे प्रेम भावले एकाकार हुन्थे । मजस्तै उनी पनि मुस्काइन् । मौन रहनु, घरीघरी हेर्नु र मुस्काउनुमा पनि गजब आनन्द हुँदोरहेछ । सौन्दर्यको गुरुत्वले आफै आफै खिचिन्छन् मनहरू ।

‘हामीले चाहेर हाम्रो जन्म भएको होइन । न त हाम्रो ईच्छा बमोजिम मृत्यु हुन्छ । यो जीवनरूपी पुस्तक पढ्न अत्यन्त कठिन हुँदोरहेछ । जीवनको बारेमा के छ धारणा ?’ मैले मनमनै सोध्न छोडिन प्रश्न ।

‘सुख दुःख चर्खा झैं घुम्छ, जीवन एक दिन मेटिनु त छँदैछ । बाँच्दासम्म खुसी खोज्न संघर्ष गर्नुपर्ने रहेछ । प्रकाण्ड विद्वानहरूले पनि त जीवन बुझ्न नसक्ने रहेछन । बुझेको भनी मिथ्या ज्ञान बाँडे पनि सायद बुझेका हुँदैनन्’ उनको मनले जवाफ दिए झैं लाग्यो ।

मीठो पफ्र्युमको वासना बसाएर निकट बोलाएको थियो । मन पानी जस्तै पनि त हो नि । कहिले कठोर हुँदा जमेर ढुङ्गो हुन्छ, नरम हुँदा पोखिएर बग्छ । वासनाले जेसुकै गरोस मन बगाउनु वान्छनीय हुँदैन । मनमा अनेक तरङ्ग खेलिरहेका थिए, उनले चुरोट आस्ट्रेमा निभाएर निमेषभर हेर्दै मुस्काइन् र टाउकाको संकेतले बिदा मागिन् । मलाई पटक्कै त्यो आशा थिएन । जवाफमा मुस्काएर मैले पनि टाउकाकै संकेले हुन्छ त– भनेँ, तब उनी बाहिर गइन् । मौनताले पनि भाषाको केही अंश धान्दो रहेछ । धूवाँको सम्झना अल्झियो मनभित्र । चुरोटका अम्मलीहरू आउने जाने भैरहेको थियो ।

पाकेटमा फोन बज्दाबज्दै म बाहिर निस्केँ र एउटा खाली कुर्सी खोजेर बसेँ । भिडभाडमा फोन गर्न जाति लाग्दैन । मेसेज लेखें– बाहिर छु भोलि अफिस आउँछु । भुक्तानी हुनुपर्ने कि नपर्ने हेरौंला र निर्णय गरौंला । फोनबाट टाउको उठाइ अगाडि हेर्दा ताजुब लाग्यो, मान्छेहरू लस्करै कुर्सीमा बसेका मध्ये बीचमा उज्यालो फूल फुले झैं देखियो । ती रूपसीले मलाई नै हेरि मुस्काइ रहेकी थिइन् । जब आँखा जुध्यो तब उनले अन्तै हेरें झैं बहाना गरिन् । यो मिठो घटना पटक पटक दोहोरिरह्यो ।

त्यसो त मैले पनि सकिन नियन्त्रण गर्न आफ्ना आँखालाई, फुत्किन्थे त्यतै मात्र हेर्थे । हेर्नलाई वरिपरि तमाम चिजबिज थिए । यताको स्क्रिनमा बिज्ञापन हेरे भयो, उताको स्क्रिनमा विभिन्न ठाउँमा जहाजको उडान तालिका हेरे भयो । अग्ला होचा काला गोरा किसिम किसिमका मान्छे र गतिविधि हेरे भयो । श्रृङ्गार पटार गरेर चिटिक्क परेका जहाज कम्पनीका कर्मचारी हेरे पनि भयो । हेर्नलाई के हर्जा ! तर नजर अन्यत्र अडिनै नमान्ने । उज्यालोमा फक्रेको एउटा फूलको अगाडि सबैथोक ओझेल परे जस्तै हुने ।

  • एकोहोरो हेरिरहने जब नजरको भेट हुन्छ तब अन्यत्र हेरे झैं गर्ने किन होला ? मेरा आँखाले प्रश्न गरे ।
  • होइननी । सिसाको झ्यालबाट बाहिर जहाज निहालेको ।
  • सत्यवादी आँखाले पनि यसरी ढाँट्न पाइन्छ ?
  • हेर्नै नहुने भन्ने छ त ? हेर्नैका लागि त होनि आँखाको अस्तित्व । वरिपरि जेजे हुन्छन् सबै देखिन्छन् ।
  • हेर्नुनी अघाउञ्जेल । लुकिचोरी हेरेर किन घायल पार्नु त ?
  • अघाउन्जेल हेर्न त भाग्यले साथ दिनुपर्‍यो नि ।

नजरको संवाद चल्दै थियो यत्तिकैमा लाउडस्पिकरबाट नारी स्वर गुन्जियो– महिला तथा सज्जनवृन्द कृपया ध्यान दिनुहोला । उडान नं. ५२१ लामिडाँडाका यात्रु महानुभाव अगाडिको प्रस्थान द्वारमा आइदिनु हुन अनुरोध गर्दछौं । सूचना पालैपालो नेपाली र अंग्रेजीमा फलाकियो ।

जय हलेसी महादेव ! अदभूत गुफा, पवित्र हिन्दु र बौद्ध धर्मको संयुक्त आस्था । झर्लक्क सम्झेँ प्रकृतिको अनुपम कृडास्थल खोटाङ जिल्ला । मौलिक संस्कृतिको अति नै लोकप्रिय र चर्चित सकेला नाच । ती उजेली उठेर भिडमा लाइन लागे पछि थाहा पाएँ, गन्तव्य खोटाङ रहेछ । जान्छु भन्ने संकेतले टाउको हल्लाइन् मैले पनि हुन्छ भन्ने संकेत दिएँ । ती इशारा र संकेतले मलाई महŒव दिइरहेका थिए । संकेतको लिनु दिनु भिडभाडका अनगिन्ती मान्छे कसैले भेउ पाएनन् । जब मनसँग मन मिल्छ भाषाको लागि संकेत नै काफी हुन्छ । उनी मुस्काएर हेर्दै थिइन् लाइन सर्दै थियो । उनीसँग पहिला पनि कतै भेट भए झैं लाग्यो । गोठालामा, मेलापातमा, स्कुल कलेजमा कता हो कता । तर कतै पनि होइन, भ्रमले हो जस्तै पार्दोरहेछ । ढोकामा पुगेपछि उनले घाँटीनीर बाट सुस्त हात हल्लाइन् । म उत्साहित भएँ, फेरि जिन्दगीमा भेट कतै होला नहोला, बिदाइका लागि मैले त निधारनिर बाट जाँगरले हात हल्लाएँ । ढोकाबाट भित्र पसिन्, मेरा निम्ति सदाका लागि हराइन् ।

यी आँखासँग मिठा मिठा बात मार्ने नयन लिएर ओझेल परिन् उनी । थाहा छैन ती सुन्दरी मेरो सपनामा आउँछिन कि आउँदिनन् तर सम्झनामा त अवश्य आउने नै छन । सम्झनामा हामीले सँगसँगै चुरोट तानेर धूवाँ उडाइ रहेका हुनेछौं । जिन्दगी यात्रा रहेछ भेट हुने, छुट्टिनै पर्ने ।

-उमालाल आचार्य

प्रकाशित मितिः   ३२ असार २०७९, शनिबार ०५:०३