छोडियो सतर्कता

स्वास्थ्य सावधानीका लागि सार्वजनिक स्थलमा बनाइएका सरसफाइका संरचना लथालिङ्ग

सुर्खेत: सार्वजनिक स्थलहरूमा बनाइएका स्वास्थ्य सावधानीका संरचना प्रगोगविहीन भएका छन् । सम्बन्धित निकायले रेखदेख र मर्मत सम्भार नगर्दा लाखौँ खर्चिएर निर्माण गरिएका संरचना बेवारिसे भएका हुन् । कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण तीव्र भएका बेला सबैजसो कार्यालय, विद्यालय तथा सार्वजनिक ठाउँमा हात धुने व्यवस्था गरिएको थियो । त्यतिबेला बनाइएका संरचना केही समय मात्रै प्रयोगमा आए । कोरोना संक्रमण घटेपछि स्वास्थ्य सावधानी अपनाउन छोडियो, पानी ट्याङ्कीसहित जोडिएका धारा अहिले लथालिङ्ग अवस्थामा छन् । गत वर्ष स्वास्थ्य सतर्कताका लागि हरेक कार्यालयमा सेवाग्राहीलाई हात धुने साबुनपानी र सेनिटाइजरको व्यवस्था गरिएको थियो । कोरोना संक्रमणको त्रास घटेसँगै ती संरचना प्रयोगविहीन र जीर्ण बनेका हुन् ।

स्वास्थ्य सावधानीका लागि सार्वजनिक स्थलमा बनाइएका सरसफाइका संरचना लथालिङ्ग

जिल्ला प्रशासन कार्यालय सुुर्खेतको आँगनमा धारा जडान गरिएको ड्रम छ । ड्रमसँगै जोडिएको छ, सम्पर्करहित हात धुने मेसिन । तर, उक्त मेसिन केही महिनायता प्रयोगमा छैन । बरु त्यो मेसिन फोहोर फाल्ने डस्टबिनको रूपमा प्रयोग भइरहेको छ । ट्याङ्कीमा पानी छैन । न साबुनको व्यवस्था छ न त सेनिटाइजर नै । पानी नै नभएपछि त्यहाँ जाने सेवाग्राहीले हात धुने कुरै भएन । प्रशासन कार्यायका सूूचना अधिकारी पदमलाल लामिछाने कोरोनाको संक्रमण कम हुँदै गएपछि हात धुने मेसिनको प्रयोग पनि हुन छोडेको बताउँछन् । उनी भन्छन्, ‘अहिले त्यतातिर कसैले ध्यान दिएको पाइँदैन ।’ प्रशासन कार्यालयमा खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयले झन्डै दुई वर्षअघि कोरोना महामारीको समयमा सो धारा जडान गरेको हो । लामिछानेका अनुसार धारामा पानी हुँदा पनि सेवाग्राहीहरू हात धुनुभन्दा सेनिटाइजर प्रयोग गर्न रुचाउँथे । कोरोनालगायतका सरुवा रोगबाट जोगिन सेवाग्राहीलाई साबुन पानीले हात धुने व्यवस्था गरिएपनि त्यसको सदुपयोग हुन नसकेको हो ।

सुर्खेतकै मालपोत कार्यालय अगाडि धारासहितको ट्याङ्की राखिएको छ । त्यहाँ पनि पानी छैन, साबुन छैन । कार्यालय परिसरमा भेटिएका सेवाग्राही सुुमन थापाले सार्वजनिक स्थलमा साबुन पानीको व्यवस्था हुनै छोडेपछि हात धुने बानी पनि हराएको बताए । ‘अहिले पटक–पटक हात धुने बानी नै छुट्यो,’ उनी भन्छन्, ‘कोरोनाको उच्च जोखिम भएका बेला त बारम्बार हात धोइयो ।’

स्वच्छताका लागि सरकारी कार्यालयहरूमा निर्माण गरिएका संरचनाका कतिपय सामग्रीसमेत हराइसकेका छन् । केही कार्यालयमा राखिएका धाराको टुटी नै छैन । कसले फुकालेर लग्यो भन्नेबारे ती कार्यालय बेखबर छन् । वीरेन्द्रनगर–६ को वडा कार्यालय सेवाग्राहीका लागि हात धुन राखिएको धारा पनि प्रयोग भएको छैन । वडा अध्यक्ष जनकबहादुुर रावलले धारा मर्मत गरी पुुनः सञ्चालनमा ल्याइने बताए ।

सरकारी निकायको लापरबाहीका कारण अहिले केहीबाहेक अधिकांश ठाउँमा स्वच्छताका लागि निर्माण गरिएका संरचना जीर्ण बनेका हुन् । कोरोना महामारीका बेला प्रयोगमा निकै कडाइ गरिए पनि हाल बेवास्ता बढेको हो । गत वर्ष सरकारी कार्यालयमा छिर्दा अनिवार्य मास्क लगाउनु पर्ने र साबुन पानीले हात धुुनुुपर्ने नियम नै बनाइएको थियो । सेवा प्रदायक र सेवाग्राही अधिकांशलाई हिजो–आज कोरोना सकिएको र स्वास्थ्य सावधानी अपनाउन जरुरी नरहेको लाग्ने गरेको सामाजिक विकास मन्त्रालयका एक अधिकारीले बताए । उनले भने, ‘उसबेला हात धुने सामग्रीको व्यवस्थापनमा बजेट खर्चिएका सामाजिक संघ–संस्थाहरूलाई पनि अहिले त्यस्तै भ्रम भएको जस्तो देखिन्छ ।’ ती अधिकारीले सार्वजनिक स्थल होस् या सरकारी कार्यालयहरूमा बनाइएका धाराको अवस्था बिजोक रहेको जनाए । हात धुन सहजताका लागि सरकारी तथा गैरसरकारी कार्यालयसहित मानिसहरूको बढी चहलपहल हुने सार्वजनिक स्थान, पार्क, चोक, मन्दिर र सडक छेउमा ट्याङ्कीसहित हात धुने मेसिन जडान गरिएका थिए ।

कोरोनाबाट मात्रै नभइ हातको स्वच्छताको कमीले लाग्ने रोगको जोखिम कम हुने भएकाले यो अभियानलाई जारी राख्नुपर्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का बताउँछन् । उनले कोरोना संक्रमणको दर कम भएपनि जोखिम रहिरहेकाले सावधानी अपनाउनु जरुरी रहेको औल्याए । ‘हाम्रो बुुझाइमा समस्या छ,’ उनले भने, ‘स्वच्छता कायम नगर्दा थुुप्रै रोगहरू फैलिरहेका हुुन्छन्् ।’ उनले कोरोना भाइरसका साथै अरु सरुवा रोगबाट आफू र अन्य व्यक्तिलाई जोगाउन साबुन पानीले हात धुने सबैभन्दा सस्तो र प्रभावकारी उपाय भएको बताए । विश्व स्वास्थ्य संगठनका अनुसार ४० प्रतिशत सरुवा रोग हात धोएर रोकथाम गर्न सकिन्छ । तर, कोरोना संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइ नसक्दै हात धुने बानी छुट्न थालेकोमा स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । यो हेलचक्य्राइँले जोखिम जुनसुकै बेला पनि बढ्ने उनीहरूको भनाइ छ । ‘कोरोनाका नयाँ भेरियन्टहरू देखा परेका छन् । सबै खालको संक्रमणबाट जोगिन सरसफाइमा ध्यान दिनैपर्छ, मास्क लगाउनैपर्छ,’ निर्देशक खड्काले भने । पछिल्लो समय मास्कको प्रयोग, भौतिक दूरी कायम, नियमित हात धुने र सेनिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सावधानी अपनाउन छोडिएको छ ।

प्रकाशित मितिः   २३ असार २०७९, बिहीबार ०५:०५