‘आयातलाई प्रोत्साहन गरिँदा परनिर्भरता’

सुर्खेत: सरकारले आयातलाई प्रोत्साहन गर्ने नीति लिएकाले आन्तरिक उत्पादनमा असर परेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीवार राप्रपा नेपाल कर्णाली प्रदेश कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै अध्यक्ष थापाले सरकारले आन्तरिक उत्पादनलाई बढाउनुको साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन गरेको आरोप लगाए । आन्तरिक उत्पादनलाई बढाउन स्वदेशीकरण नगरिँदा देशमा गरिवी बढ्दै गइरहेको उनले बताए । ‘सरकारको यस्तो नीतिले परनिर्भरता बढायो, देशमा गरिबी बढ्यो,’ उनले भने । सरकारसँग रोजगारमूलक कार्यक्रम नभएकै कारण ४० लाखभन्दा बढी युवा वैदेशीक रोजगारीमा जान बाध्य भएको नेता थापाले जनाए । उनले भने, ‘विदेशमा जोखिमपूर्ण काम गरेर आएको विप्रेषणले देशको अर्थतन्त्र धानिएको छ ।’ बढ्दो गरिबीको फाइदा उठाउँदै विपन्नलाई सम्पन्न बनाउने नाममा ईसाईकरण गरिएको समेत उनको आरोप छ । नेपाल धर्म परिवर्तन गर्ने देशहरूमा पहिलो नम्बरमा रहेको समेत थापाको दाबी छ ।

लोकतन्त्रको आडमा केही सीमित राजनीतिक दलका व्यक्तिहरूको रजगज रहेकाले मुलुकको विकास हुन नसकेको नेता थापाको तर्क छ । अन्तरक्रिया कार्यक्रमको अवसरमा उनले कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत दिएका छन् । फरक विचार र राष्ट्र निमार्णको वैकल्पिक मार्गचित्र बोकेको राप्रपा नेपालले मुलुकको विकास र समाज रूपान्तरणमा काम गर्न आवश्यक रहेको उनले औंल्याएका थिए । समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग विचारको आदान–प्रदान गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको राप्रपा नेपालका केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जनाए ।

प्रकाशित मितिः   १७ असार २०७९, शुक्रबार ०५:०२