जन्मदिनमा विद्यालयलाई सहयोग

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघका निमित्त कार्यकारी निर्देशक गणेशकुमार कार्कीले जन्मदिनको अवसर पारेर विद्यालयलाई सहयोग गरेका छन् । वीरेन्द्रनगर–१३ स्थित सरस्वती आधारभूत विद्यालयलाई पाँच वटा सिलिङ पङ्खा प्रदान गरेका हुन् ।
कार्कीले बिहीवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रनाथ योगीलाई पङ्खा हस्तान्तरण गरे । विगतदेखि नै जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै आएको बताउँदै यस वर्ष विद्यालयलाई सहयोग गरेको जनाए । उनले आगामी दिनमा पनि विद्यालयका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । आफूले सामुदायिक विद्यालयमा अध्ययन गरेका कारण पनि जन्मदिन पारेर सामुदायिक विद्यालयमा सहयोग गर्ने प्रेरणा मिलेको कार्कीको भनाइ थियो ।
२०४६ सालमा स्थापना भएको विद्यालयमा भौतिक पूर्वाधारको अभाव रहेको छ । स्थापनाकालमा निर्माण गरिएका कक्षा कोठाहरू जीर्ण बनेका छन् । ढुंगा र माटोको बान्नो र टिनको पाताले छाइएको छ । गर्मीयाममा पाता तातिने र वर्षायाममा पानी परे पढाइमा अवरोध हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगीले बताए । उनले स्थापनकालदेखि हालसम्म पूर्वाधारका नाममा कुनै पनि सरकारी योजना नपरेको गुनासोसमेत गरे । जेनतेन गरी सञ्चालन गरिएको विद्यालयमा भवन र शौचायलयका आवश्यकता रहे पनि सम्बन्धित नियकाले बेवास्ता गरेको योगीको भनाइ छ ।
भवन अभाव हुँदा विद्यालयको स्तरोन्नतिमा समस्या भएको छ भने शौचालय नहुँदा बालबालिकाहरूलाई शौच गर्न कठिनाइ भएको उनले बताए । भौतिक पूर्वाधारका साथसाथै विद्यालयमा जनशक्तिको पनि अभाव छ । शिक्षक दरबन्दी अभाव रहेको अध्यक्ष योगीले जानकारी दिए । विद्यालयमा कक्षा पाँचसम्म पढाई हुने गरेको छ ।


साझा बिसौनी ।