विपद्लाई बेवास्ता नगर

मनसुन सुरु भइसकेको छ । मनसुनसँगै प्राकृतिक विपदको जोखिम बढ्ने गरेको छ । कणाली प्रदेशको राजधानी वीरेन्द्रनगर पनि मनसुनी विपद्को उच्च जोखिममा छ । नगरको उपत्यका क्षेत्र बाढी र डुवान तथा भिरालो जमिन भएका केही वडाहरू पहिरोको जोखिममा छन् । हरेक वर्ष वर्षायाम सुरु भएसँगै यहाँ डुवान, कटान र पहिरोको समस्या आइरहन्छ । यसपटक पनि मनसुन लागेपछि विपद्जन्य जोखिमको त्रास सुरु भएको छ ।

मनसुनी विपद्ले बर्सेनि जनधनको क्षति गर्दै आएपनि प्रतिकार्य र सावधानीमा सरोकारवाला निकाय उदासीन छन् । जोखिमयुक्त स्थानमा धमाधम घर निर्माण भइरहँदा वीरेन्द्रनगर नगरपालिका बेखबरजस्तै बनेको छ । मापदण्डविपरीत नगरभित्र भौतिक संरचना निर्माण गरिँदा त्यसले झनै विपद्जन्य जोखिम बढाएको छ । उपत्यकाका खोर्के, इत्राम र नेवारे खोला नै च्यापेर थुप्रै घर निर्माण भएका छन् । जसले गर्दा खोलाको क्षेत्र साँघुरिँदै गएको छ । त्यसरी बसेका बस्ती जहिले पनि बाढी, पहिरो र कटानको खतरामा रहेको छ । नियामक निकायको बेवास्ताका कारण वीरेन्द्रनगरमा बर्सेनि जोखिमपूर्ण बसोबास बढ्दो छ । घर निर्माणको कागजी प्रक्रिया पूरा गरेपछि नगरपालिकाले निर्माण स्वीकृत दिन्छ । तर, विपद्को जोखिमबारे अनुगमन तथा नियमन भने गर्दैन । कतिपयले जोखिम मोलेरै ऐलानी जग्गामा समेत पक्की संरचना बनाएका छन् । खोला आसपास भौतिक संरचना बनाउँदा नगरबासी र नगरपालिका दुवैले ख्याल गरिएको पाइँदैन । वीरेन्द्रनगर–३ मा मात्रै पाँच सय घरधुुरी बाढी र कटानको उच्च जोखिममा छन् । वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र भएर दक्षिण बग्ने खोर्के र इत्राम खोलामा वर्षायाममा कटान हुन्छ । उपत्यकाको तल्लो तटीय क्षेत्रमा डुवानको उस्तै समस्या छ । भरपर्दो ढल व्यवस्थापन नहुनु तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा दक्षिणी भू–भागमा वर्षैपिच्छे डुवान हुने गरेको हो ।

वीरेन्द्रनगर उपत्यकाको पानी बाहिरिने एक मात्र स्थान वडा नं. ९ स्थित निकास खोला हो । उक्त ठाउँमा व्यवस्थित तटबन्धन नहुँदा आसपासका बासिन्दा डुवान र कटानको जोखिम व्यहोर्न बाध्य छन् । दुई वर्ष अघिदेखि निकास खोला तटबन्धन निर्माणको काम थालिए पनि अझै पूरा भएको छैन । विपद्ले बर्सेनि दुख दिनेगरेपनि त्यसलाई न्यूनीकरण गर्ने सवालमा सम्बन्धित निकाय गम्भीर हुन सकेको छैन । यसतर्फ ध्यान दिन जरुरी छ । समयमै ध्यान दिइएन भने विगतमा जस्तै धनजनको ठूलो क्षति बेहोर्नुपर्ने समय आउनसक्नेछ ।

प्रकाशित मितिः   १५ असार २०७९, बुधबार ०९:३१